काठमाडौँ । नेपालका लागि चीनका राजदूत चेन सङले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग बिहीबार मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।
भेटवार्तामा हालैको बाढीका कारण क्षतिग्रस्त बनेको स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड तथा सीमा पुलको पुनर्निर्माण लगायतका विषयमा विस्तृत छलफल भएको हो।
भेटका क्रममा राजदूत चेनले क्षतिग्रस्त सडक तथा सिमापुल पुनःनिर्माणमा चिनियाँ पक्षको विशेष चासो रहेको उल्लेख गरे। सिमापुल रहेको स्थानमा अस्थायी पुल जतिसक्दो चाँडो निर्माण गर्न चिनियाँ पक्षले प्रतिवद्धता जनाएको मन्त्रालय स्रोतले जनाएको छ।
छलफलका क्रममा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमिकोट सडक, खाँदबारी–किमाथांका सडक लगायत चिनियाँ सहयोगमा सञ्चालनमा रहेका अन्य भौतिक पूर्वाधार आयोजनाबारे समेत विस्तृत कुराकानी भएको थियो। राजदूत चेनले काठमाडौँ चक्रपथ दोस्रो खण्डको विस्तारीकरण कार्य चाँडै सुरु हुने जानकारी मन्त्री दाहाललाई गराएका थिए।
भेटपछि मन्त्री दाहालले नेपालको भौतिक पूर्वाधार विकासमा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
छलफलमा सहभागी मन्त्रालयका सचिव केशवकुमार शर्माले सिमापुल रहेको स्थानमा दशैंअघि नै अस्थायी पुल निर्माण सम्पन्न हुने अपेक्षा गरिएको बताए। मन्त्री दाहाल, मन्त्रालयका अधिकारीहरू र सडक विभागका प्रतिनिधिहरूबिच उपयोगी छलफल भएको जानकारी सचिव शर्माले दिए।
बाढीले रसुवागढी नाकामा असर पुर्याएपछि त्यस खण्डलाई चाँडो पुनः सञ्चालनमा ल्याउने विषयमा मन्त्री दाहालले निरन्तर चासो देखाउँदै आएका छन्। छलफलमा सडक विभागका महानिर्देशक डा। विजयकुमार जैसीसहित मन्त्रालय र सडक विभागका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्