‘श्री पशुपति मनकामना पूर्ति तथा संकट मोचन विराट ज्ञान महायज्ञ २०८२’ आजदेखि सुरू (फाेटाे फिचर)


काठमाडौँ । सनातन धर्मको संरक्षण, सामाजिक सेवाको प्रवर्धन र विश्वशान्तिको कामनासहित ‘श्री पशुपति मनकामना पूर्ति तथा संकट मोचन विराट ज्ञान महायज्ञ २०८२’ आजदेखि काठमाडौँको पशुपति क्षेत्रमा सुरू भएको छ। महायज्ञ साउन १ गतेदेखि भदौ २१ गतेसम्म सञ्चालन हुनेछ।

श्री मानव सेवा फाउण्डेसन नेपालको आयोजनामा सुरू भएको यस ऐतिहासिक महायज्ञको पहिलो दिन बिहानैदेखि भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ। धार्मिक अनुष्ठान, मन्त्रोच्चारण, आरती, रुद्राभिषेक, संकल्प, हवन लगायतका विधिहरूको साथमा यज्ञ प्रारम्भ गरिएको हो।

पशुपति क्षेत्रको वातावरण यस अवसरमा अत्यन्त पवित्र र आध्यात्मिक बनाइएको छ। फूलमालाले सजिएको यज्ञमण्डप, धूपधूवाको सुवास, वेदपाठ र भजनकीर्तनको गुञ्जनले धार्मिक श्रद्धालुहरूलाई आकर्षित गरेको छ। श्रद्धालुहरूले लाइन बसेर दर्शन गरेका छन्, पूजापाठ गरेका छन् र विशेष आरतीमा सहभागी भएका छन्।