काठमाडौँ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको १०औं संस्करणको लागि अनलाइन नोमिनेसन (आवेदन) आज साउन १ गतेदेखि खुला भएको छ ।
सन् २०१६ देखि लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको ‘आइसिटी अवार्ड’मा यस वर्ष १५ विधाहरुमा अनलाइन नोमिनेसन खुला गरेकाे हाे । नोमिनेसन आफै स्वयम् वा अन्य उपयुक्त व्यक्ति वा सस्थाहरुलाई विधा अनुरुप सिफारिस गर्न सकिनेछ ।
प्रविधि क्षेत्रका स्टार्टअप, इन्नोभेसन, प्रडक्टसँगै सरकारी तथा निजी संस्थाहरुका डिजिटल रुपान्तरणका प्रयासहरुलाइ समेटेको छ । यसैगरी सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा पुर्याएको योगदानको आधारमा व्यतीहरुलाइ पनि यस अवार्डले सम्मान गर्ने गरेको छ ।
नेपालमा मात्र नभएर आइसिटी अवार्ड अन्तर्राष्ट्रियस्तरसम्म बिस्तार भइरहेको छ । विगत ३ वर्षदेखि दक्षिण एशियाली देशहरूलाई लक्षित गरेर ‘साउथ एशिया स्टार्टअप अवार्ड’ पनि सन्चालन भइरहेको छ भने अन्य डब्ल्युएसए लगायत अन्य अन्तर्राष्ट्रिय अवार्डहरुसँग पनि यसको सहकार्य रहेको छ ।
आइसिटी अवार्डको ग्रान्ड फिनाले पुष पहिलो साता आयोजना हुने जनाइएकाे छ । १५ अवार्ड विधामा सर्वाेत्कृष्ट छनाेट गर्नको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट २० बिज्ञ जुरी सदस्य रहनेछन् भने सरकारी र निजी क्षेत्रका सम्मानित १२ बढी व्यक्तिहरुको सल्लाहकार समिति गठन गरिने उल्लेख गरिएकाे छ ।
अवार्डमा क्याटेगोरी ए अन्तगर्त स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड र सोसियल इन्नोभेसन आइसिटी अवार्ड विधाहरु रहेका छन । यी विधाहरुमा स्वंम प्रतिस्पर्धी आफैले आवेदन दर्ता गर्नुपर्नेछ ।
क्याटेगोरी बी अन्तर्गत आइसिटीमार्फत समाज र राष्ट्रको लागि पुर्याएको योगदानको आधारमा अवार्डमा आवेदन लिने गरिन्छ । यस विधा अन्तर्गत पायोनियर आइसिटी अवार्ड, प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र नेपाली डायस्पोरा आइसिटी अवार्ड विधाहरु रहेका छन । यी विधाहरुमा स्वंम आफैँ वा अरू कसैले पनि व्यक्तिको विवरण उल्लेख गरेर नोमिनेसन दर्ता गर्न सकिने छ ।
यसैगरी क्याटेगोरी सी अन्तर्गत सरकारी र निजी संस्थाहरुको डिजिटल रुपान्तरण तथा यसको लागि भएका प्रयास र अभ्यासहरुलाई हेरेर नोमिनेसन लिने जनाइएकाे छ । यस अन्तर्गत डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल सर्भिसेस आइसिटी(इन्टरप्राइज सेक्टर) र डिजिटल सर्भिसेस आइसिटी(नियो सेक्टर) अवार्ड विधाहरु रहेका छन् ।
यस्तै क्याटोगोरी डी अन्तर्गत रहेको साउथ एसिया स्टार्टअप आइसिटी अवार्डमा भारत, बंगलादेश, पाकिस्तान, श्रिलंका, भुटान, माल्दिभ्स, नेपालका, अफगानस्थानका स्टार्टअपहरुले आवदेन दिन सक्ने छन ।
यी सम्पूर्ण अवार्ड विधाहरुमा आजैदेखि अनलाइन आवेदन खुल्ला भएको छ । अवार्डको आधिकारिक वेबसाइट बाट अनलाइन नोमिनेशन दर्ता गर्न सकिने आयोजक लिभिङ विथ आइसिटीले जानकारी दिएको छ । नोमिनेसन साउन ३१ गतेसम्म खुल्ला रहने छ ।
आइसिटी अवार्डमा आवेदन दिने विधा र प्रक्रियाहरु
१. स्टार्टअप आइसिटी अवार्ड २०२५
आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीहरूलाइ प्रवद्र्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानून अनुसार कम्पनी दर्ता भएर सञ्चालनमा रहेको हुनुपर्नेछ । यस विधामा विगत ५ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्नेछन् ।
२. प्रडक्ट आइसिटी अवार्ड २०२५
आइसिटी प्रडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समूह वा व्यक्तिले विकास गरेको आइटी तथा इन्नोभेटिभ प्रडक्टलाई नोमिनेशन दर्ता गराउन सकिनेछ । वि.सं २०८१ सालदेखि २०८२को असारसम्म सार्वजनिक भएका आइटी प्रडक्टहरूलाई लिएर यस विधामा नोमिनेशन दर्ता गर्न सकिन्छ ।
३. राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२५
राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्डमा कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरू तथा ३० वर्ष मुनिका युवाहरुको इन्डस्ट्री प्रोजेक्ट रिसर्च, आइडिया, इन्नोभेसन तथा प्रडक्टहरूलाई लिएर नोमिनेशन दर्ता गर्न सकिनेछ ।
४. सोसियल इन्नोभेसन आइसिटी अवार्ड २०२५
सोसियल इन्नोभेसन आइसिटी अवार्ड सामाजिक क्षेत्रमा भइरहेका इन्नोभेसनलाई प्रवर्द्धन गर्नको लागि हो । जुन इन्नोभेसन तथा डिजिटल इनिसिएटिभ्सले समाज र राष्ट्रको लागि सकारात्मक प्रभाव पारिरहेका छन, उनीहरुले यसमा आवेदन दिन सक्नेछन । सरकारी सस्था, विकास साझेदार, सामाजिक संस्थाहरु लगायत उद्यमीहरुले विकास गरेर विगत ५ वर्षदेखि प्रयोगमा ल्याइरहेका इन्नोभेसनहरुलाई यसमा विधामा समावेश गरिनेछ ।
५. प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२५
प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड विधामा आइसिटी क्षेत्रसँग सम्बन्धित रहेर कम्तिमा ५ वर्षको अनुभवसँगै आइसिटी क्षेत्रका विभिन्न टेक डोमेनहरुमा पुर्याएको योगदान, विज्ञता र कामको आधारमा सम्मान गरिने यस विधामा जो कोहि आइटी प्रोफेसनलले आवेदन दिन सक्नेछन ।
६. पायोनियर आइसिटी अवार्ड २०२५
यो अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज व्यक्तिलाई प्रदान गरिन्छ । यस विधामा कम्तिमा २० वर्ष बढीको योगदान र कामको आधारमा आवेदन दिन सकिनेछ ।
७. नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२५
नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि आइसिटीको माध्यमबाट नेपालको डिजिटल इकोसिस्टम, समाज र राष्ट्रको लागि पुर्याएको योगदानको आधारमा यस विधामा नोमिनेशन दर्ता गर्न सकिनेछ ।
८. आन्टरप्रेनर आइसिटी अवार्ड २०२५
आन्टरप्रेनर आइसिटी अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइने छ । नोमिनेशनको लागि आइसिटी उद्यमीको रुपमा कम्तिमा ७ वर्षको अनुभव आवश्यक पर्नेछ ।
९. वुमन आइकन आइसिटी अवार्ड २०२५
वुमन आइकन आइसिटी अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूका लागि लक्षित छ । यस विधामा उद्यमी, नेतृत्वकर्ता, प्रोफेसनल तथा आइसिटीको क्षेत्रमा उदाहरणिय काम गर्नुभएको महिलाहरुले नोमिनेसन दर्ता गर्न सक्नेछन् ।
१०. डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२५
यस विधामा सरकारी सेवा तथा सुविधालाई डिजिटलिकरण गर्दै नागरिकलाई सहज, सरल किसिमले प्रविधिमैत्री सेवा दिन प्रयासरत सरकारी सस्था, प्राधिकरण, विभाग, निकाय वा स्थानिय पालिकाहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन ।
११. डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर) २०२५
डिजिटल एजुकेशन आइसिटी अवार्ड, आइसिटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउदै शिक्षण सिकाई तथा व्यवस्थापनमा उदाहरणिय काम गरेका सरकारी तथा सामुदायिक शैक्षिक संस्थाहरुले नोमिनेशन दर्ता गर्न सक्नेछन ।
१२. डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर) २०२५
डिजिटल एजुकेशन आइसिटी अवार्ड आइसिटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउदै शिक्षण सिकाई तथा व्यवस्थापनमा उदाहरणीय काम गरेका निजी शैक्षिक संस्थाहरुले नोमिनेशन दर्ता गर्न सक्नेछन ।
१३. डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२५ (इन्टरप्राइज सेक्टर)
यस विधामा निजी क्षेत्रका कर्पोरेट संस्थाहरु, लिमिटेड वा कम्पनिहरुले सर्बसाधारणलाइ दिने सेवाहरुको आधारमा अवार्डको नोमिनेसनमा सहभागी हुन सक्नेछन् ।
आफ्नो परम्परागत सेवा प्रणालीलाइ आधुनिकिकरण गर्दै प्रविधि मार्फत सेवा दिने लक्ष्यसाथ केन्द्रित रहेका कम्पनि, बैंक तथा वित्तीय सस्थाहरु, अस्पताल तथा स्वास्थ केन्द्रहरु, इन्सुरेन्स, कर्पोरेट लगायतका सस्थाहरुले अवार्डको लागि प्रक्रियामा सहभागी हुन सक्नेछन् ।
१४. डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२५ (नियो सेक्टर)
यस विधामा प्रविधिमा आधारित डिजिटल प्लाटफर्म (डिजिटल सिस्टम, एप्लिकेसन, वेबसाइट) मार्फत प्रदान गरिने सेवाहरुले आवेदन दिन सकिनेछ । परम्परागत भन्दा फरक प्रविधिमा आधारित रहेर सर्बसाधारणलाइ सेवा प्रदान गर्ने निजि कम्पनि तथा सस्थाहरुले अवार्डको नोमिनेसन प्रक्रियामा सहभागी हुने सक्नेछन ।
१५. साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२५
यस विधामा दक्षिण एसियाली देशहरु भारत, बंगलादेश, पाकिस्तान, श्रिलंका, मालदिभ्श, भुटान, अफगानिस्तान र नेपालका स्टार्टअपहरुले सहभागिता जनाउन सक्नेछन । ५ वर्षसम्मका स्टार्टअपहरुले यस विधामा नोमिनेशन दर्ता गर्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस्