गोल्याण ग्रुपका दुई कम्पनीका प्रबन्धकलाई सीआइपी अवार्ड


काठमाडौं । सरकारबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने व्यक्तित्वलाई प्रदान गरिने व्यावसायिक रूपमा महत्त्वपूर्ण व्यक्ति (सीआईपी) को सम्मान गोल्याण ग्रुप अन्तर्गतका दुई कम्पनीका प्रबन्धकलाई प्रदान गरिएको छ।

रिलायन्स स्पिनिङ मिल्सका प्रबन्ध सञ्चालक अक्षय गोल्याण र टेरिकोटका प्रबन्ध निर्देशक शक्ति गोल्याणलाई नेपालको अर्थतन्त्रमा उच्च मूल्यको निर्यातमार्फत योगदान पुर्‍याएको भन्दै सिआइपी अवार्ड प्रदान गरिएको हो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दुबैलाई सम्मान प्रदान गरेका हुन् ।

सरकारको उद्योग विभागले प्रत्येक वर्ष निर्यात, रोजगारी सिर्जना, कर तिर्ने क्षमता, सामाजिक उत्तरदायित्व लगायतका सूचकांकको मूल्यांकन गरी सिआइपी सूची सार्वजनिक गर्दै आएको छ। यसपालिको सूचीमा गोल्याण ग्रुप अन्तर्गतका दुई प्रमुख कम्पनीका निर्देशकले स्थान पाउनु समूहको निर्यातमुखी व्यवसायिक रणनीति र दिगो आर्थिक वृद्धि प्रतिको प्रतिवद्धताको प्रमाण भएको छ।

नेपालमा उद्योग, निर्यात र रोजगारी सिर्जनामार्फत अर्थतन्त्रमा गोल्याण समूहको प्रभाव उल्लेखनीय रहँदै आएको छ।सुनसरी खनार र दुहबीमा रहेका दुई उत्पादन केन्द्र रहेको यस उद्योगले नेपालको धागोको माग पूर्ति गर्दै भारत, टर्की लगायत थुप्रै देशमा निर्यात गर्दै आएको छ । यस उद्योगले ऊन (उल) धागो, सूति (कटन) धागो, पोलिस्टर धागो, एक्रेलिक धागो, भिस्कोस धागो उत्पादन गर्दै आएको छ ।