उर्जा मन्त्री खड्काको एक वर्षः ६३१ मेगावाट विद्युत उत्पादन वृद्धि, कुल जडित उत्पादन क्षमता ३ हजार ८ सय ७८ मेगावाट पुग्यो


काठमाडाैँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मन्त्रालय सम्हालेको वर्षदिन पुगेको अवसरमा आफूले गरेका कामहरूकाे विवरण सावर्जनिक गरेका छन् ।

बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री खड्काले २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको सहकारी मन्त्रीमा नियुक्त भए यता मन्त्रालयमार्फत भएका कामहरूको विवरण सार्वजनिक गरेका हुन् ।

आफ्नो एक वर्षे कार्यकालमा उर्जा, प्रशारण लाइनको र सिंचाईको क्षेत्रमा उल्लेख्य प्रगति गरेको दाबी गरेका छन्। उनले सिँचाईतर्फ ८५ प्रतिशत भन्दा बढी कार्यसम्पादन गरेको उल्लेख गर्दै  समग्र मन्त्रालयको प्रगति ७८.१७ प्रतिशत प्रगति हासिल जिकिर गरे।

मन्त्री खड्काकाअनुसार १ बर्षको अवधीमा ६३१ मेगावाट विद्युत उत्पादन बढाएर  विद्युत जडित क्षमता ३८ सय ७८ मेगावाट पुगेको छ । उनले सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गरी उर्जा विकास र विस्तार तथा समृद्धिको सपना पुरा गर्न कार्ययोजना समेत सार्वजनिक गरिएको बताए ।

मन्त्री खड्काले १५ हजार मेगावाट विजुली भारत र वंगलादेशलाई नियार्त गर्ने सम्झौता भइसकेको उल्लेख गर्दै १३ हजार ५ सय मेगावाट विद्यत स्वदेशमै खपत गरिने लक्ष्य लिइएको उल्लेख गरे। उनले बंगलादेशसँग ४० मेगावाट विद्युत बिक्री सम्झौता गरी ५ महिनामा १ अर्ब २५ करोड भन्दा बढी आम्दानीको सुनिश्चितता भएको बताए ।

उनले हाल ८५० मेगावाट विद्युत निर्यात भइरहेको दाबी गरे । मन्त्री खड्काले नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, जलस्रोत विधेयक, विद्युत विधेयक संसदमा विचारिधन रहेको उल्लेख गर्दै सिंचाई र नदी व्यवस्थापन विधेयकको मस्यौदा समेत तयार भएको बताए ।

उनले निजी क्षेत्रको समेत सहभागितामा आन्तरिक तथा अन्तरदेशीय विद्युत व्यापार सम्बन्धी कार्य गराउन आवश्यक नीतिगत तथा नियमनकारी व्यवस्था सम्बन्धमा विस्तृत अध्ययन गर्न समिति गठन गरी कार्य अगाडि बढाइएको पनि बताए ।