श्रमिकको तलब बढ्यो, न्यूनतम मासिक पारिश्रमिक १९ हजार ५ सय ५० रुपैयाँ


काठमाडौँ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै श्रमिकहरूको मासिक पारिश्रमिक अब १९ हजार ५ सय ५० रुपैयाँ हुने जानकारी दिएको हो।

यसअघि चिया बगानबाहेकका श्रमिकहरूको न्यूनतम मासिक पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ र प्रतिघण्टा ज्याला ८९ रुपैयाँ निर्धारण गरिएको थियो। आंशिक रूपमा काम गर्ने श्रमिकको न्यूनतम प्रतिघण्टाको पारिश्रमिक ९५ रुपैयाँ थियो।

सरकार, रोजगारदाता र श्रमिक प्रतिनिधिहरूबिच बुधबार साँझ भएको सहमति अनुसार अबको मासिक पारिश्रमिकमध्ये १२ हजार १ सय ७० रुपैयाँ आधारभूत पारिश्रमिक र ७ हजार ३ सय ८० रुपैयाँ महङ्गी भत्ता हुनेछ। यो निर्णय संयुक्त ट्रेड युनियन समन्वय केन्द्र लगायतका सरोकारवालासँगको छलफलपछि श्रम ऐन, २०७४ को दफा १०६(१) बमोजिम गरिएको हो।

नयाँ दरअनुसार दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक ७५४ रुपैयाँ तोकिएको छ, जसमा ४७० रुपैयाँ आधारभूत पारिश्रमिक र २८४ रुपैयाँ महङ्गी भत्ता समावेश छन्।

त्यस्तै, प्रतिघण्टाको पारिश्रमिक १०१ रुपैयाँ कायम गरिएको छ, जसमा ६३ रुपैयाँ आधारभूत पारिश्रमिक र ३८ रुपैयाँ महङ्गी भत्ता हुनेछ। आंशिक समय काम गर्ने श्रमिकको हकमा प्रतिघण्टा १०७ रुपैयाँ न्यूनतम पारिश्रमिक निर्धारण गरिएको छ।