काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले नेपालले वातावरणमैत्री विकासको बाटो रोज्नैपर्ने आवश्यकता औंल्याएका छन्।
शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद बस्नेतले जलवायु परिवर्तनका प्रभाव नेपालमा गहिरो रूपमा देखिन थालेको र त्यसका समाधानतर्फ राज्यको ध्यान केन्द्रीत हुनु पर्ने बताएका हुन्।
“हामी वातावरणमैत्री विकासका कुरा गरिरहेका छौं, यो सकारात्मक हो। तर, क्लाइमेट चेन्जका कारण हामीले ठूलो असर व्यहोर्नुपरेको छ, यद्यपि त्यसका लागि हामी कम जिम्मेवार छौं,” उनले भने।
उनले नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान दिए पनि त्यसको प्रत्यक्ष असर झेल्नुपर्ने अवस्था रहेको उल्लेख गरे। यस्तो अवस्थामा उत्पन्न समस्याको समाधान खोज्न अलमल नहुने उनको भनाइ थियो।
सांसद बस्नेतले विकास योजनामा वातावरणको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्दै सरकारका तर्फबाट सम्भव हुने कार्यमा मात्रै केन्द्रित हुनुपर्ने धारणा राखे। “लागु हुन नसक्ने कुरा गरेर रमाउने बानी राम्रो होइन,” उनले भने।
पूर्वाधार विकासमा वातावरणीय सन्तुलन कायम राख्ने गरी अगाडि बढ्नुपर्नेमा सांसद बस्नेतको जोड थियो।
प्रतिक्रिया दिनुहोस्