काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले गत आर्थिक वर्षमा निर्माण कम्पनीहरूलाई ८ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी गरेको जानकारी दिएका छन्।
शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले उक्त रकम अघिल्लो वर्षको बक्यौता भुक्तानीमा खर्च गरिएको बताएका हुन् ।
“पोहोर साल हामीले लगभग ८ अर्ब ६६ करोड रुपैयाँ अघिल्लो वर्षको भुक्तानी गरेका छौँ,” मन्त्री दाहालले भने,”कागजात नपुगेका केही कम्पनीहरूलाई भने अझै भुक्तानी गर्न बाँकी छ, ती सबैलाई साउनभित्र अविलम्ब भुक्तानी हुनेछ।”
उनले विश्व बैंकको सहकार्यमा सञ्चालित परियोजनाहरूमार्फत पनि रकम भुक्तानी प्रक्रिया अघि बढिरहेको जानकारी दिए ।तर, स्टाटेजिक रोड नेटवर्क अन्तर्गतका केही पुलहरूको ५६ करोड रुपैयाँ भुक्तानी गर्न नसकिएको उनले स्वीकार गरे ।
“५६ करोड रुपैयाँ हामीले एसआरएनमा रहेका पुलहरूको भुक्तानी गर्न सकेनौँ, त्यो साँचो कुरा हो,” उनले भने ।बैठकमा मन्त्री दाहालले कन्काइ पुल निर्माण समयमै सम्पन्न हुन नसक्ने अवस्था देखिएमा तत्काल ठेक्का तोडेर नयाँ ठेक्काका लागि प्रक्रिया अघि बढाइने पनि बताए । अधुरा परियोजना सम्पन्न गर्न पर्याप्त बजेट अभाव रहेको उल्लेख गर्दै उनले आगामी योजनाहरू व्यवस्थित रूपमा अघि बढाइने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्