काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशमा बढ्दो भ्रष्टाचार नियन्त्रणको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा औपचारिक उजुरी दर्ता गराएको छ।
शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले टंगालस्थित आयोगको कार्यालयमा निवेदन दिएको हो।
निवेदन दिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङदेनले अहिले देशमा भ्रष्टाचार महामारीको रूपमा फैलिएको दाबी गरे । उनले भने, “भ्रष्टाचार नियन्त्रण र कारबाहीको जिम्मा पाएका संवैधानिक निकायहरु कतिपय अवस्थामा निष्क्रिय र निष्प्रभावी देखिएका छन्। अहिले भ्रष्टाचार कहाँ कहाँ छ भनेर होइन, कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ।”
राप्रपाले २०४६ सालपछि सत्तामा पुगेका उच्चपदस्थ नेताहरु, कर्मचारी र उनीहरूका नातेदारहरूसम्मको छानबिन हुनुपर्ने माग राखेको छ। अध्यक्ष लिङदेनले आफ्नो पार्टीले कुनै एक व्यक्ति वा दललाई लक्षित गरेर होइन, समग्रमा भ्रष्टाचारविरुद्ध कारबाहीको माग गरेको स्पष्ट पारे ।
उनले वर्तमान मन्त्रीरूबिच “छिटो र धेरै कमाउने प्रतिस्पर्धा” चलेको आरोप समेत लगाए। “मन्त्रीहरू एक अर्काबीच प्रतिस्पर्धा गरिरहेका छन् – कसले बढी कमाउने भन्नेमा। यस्तो अवस्थामा अख्तियारजस्ता निकायको भूमिका अझै प्रभावकारी हुन जरुरी छ,” लिङदेनले भने ।
भ्रष्टाचारका मुद्दामा राजनीतिक नेतृत्वको अनुसन्धानको दायराबाट बाहिर रहनुले अख्तियारको निष्पक्षता र प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको भन्दै उनले आयोगको ध्यानाकर्षण गराउन उजुरी दर्ता गरिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्