सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल


काठमाडाैँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीहरूलाई रासनको अभाव रहेको बताएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले सुरक्षाकर्मीहरूले धेरै समस्यामा रहेर काम गर्नुपरेको उल्लेख गरेका हुन्। काठमाडौँमा सशस्त्र प्रहरी बलले बिहानको चियादेखि बेलुकाको खानासम्म २०३ रुपैयाँमा रासनको व्यवस्था गर्नुपरेको बताए ।

सुरक्षा बललाई पोशाक किन्न ३ अर्ब ७ करोड आवश्यक पर्ने भएपनि ६१ करोड १८ लाख मात्रै दिने गरिएको र यसले गुणस्तरीय पोशाक किन्न समस्या रहेको गुनासो गरे । यसबारेमा सरकार गम्भीर हुनुपर्ने उनकाे भनाइ छ । 

“सुरक्षाकर्मीहरूले धेरै समस्यामा काम गर्नु परिरहेको छ । रासनकै पनि धेरै कमी छ । काठमाडौंमा २०३ रुपैयाँ छ । त्यसले दिनभरको चियादेखि सुत्ने बेलासम्मको खानाको म्यानेज गर्नुपरेको छ । पोशाकमा नियमावलीमा दिएको अधिकारअनुसार किन्नुपर्दा पोशाक लगभग ३ अर्ब ७ करोड हामीलाई आवश्यक पर्दछ,” उनले भने ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले अपराध नियन्त्रणका लागि सीमामा अभिलेख राख्ने काम गरिरहेको पनि बताए । मनोबलका लागि ५ सय जनाको इन्स्योरेन्स गरेको बताए ।