काठमाडौँ । मधेस प्रदेशका ८ जिल्लामा परेको भीषण सुख्खाका कारण धान रोपाइँ ठप्प भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ती जिल्लाहरूमा अध्ययन टोली पठाउने भएको छ।
शुक्रवार कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालय तथा मातहतका निकायका कर्मचारीहरूसँग छलफल गरी समस्या समाधानका लागि तत्कालै टोली खटाउन निर्देशन दिएका हुन्। उक्त निर्देशन अनुसार प्रत्येक जिल्लामा केन्द्रबाट २र२ जना कृषि प्राविधिकको टोली आइतवार खटिने निर्णय भएको हो।
टोलीले हालको अवस्था, समस्या समाधानका लागि गर्न सकिने तत्कालीन तथा दीर्घकालीन उपायहरूको अध्ययन गर्नेछ। त्यस्तै, टोलीले मधेस प्रदेशमा कार्यरत मन्त्रालय अन्तर्गतका कार्यक्रम र आयोजनाका कर्मचारीहरूसँग समेत समन्वय गर्नेछ।
मधेस प्रदेश सरकारले केही दिनअघि लगातारको सुख्खीका कारण खानेपानीको अभाव र धान रोप्न नसकिएको अवस्था देखाउँदै उक्त क्षेत्रलाई सुख्खा ग्रस्त घोषणा गरिसकेको छ।
मन्त्री अधिकारीले अबको केही दिनभित्र वर्षा नभएमा तीनै तहका सरकारहरू मिलेर विकल्प खोज्नु पर्नेमा जोड दिएका छन्। सिंचाइका हाल रहेका संरचनालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनुका साथै अन्य वैकल्पिक उपायबारे सम्बन्धित निकायसँग छलफल गरेर तत्कालीन तथा दीर्घकालीन निर्णय गरिने जानकारीसमेत उनले दिएका छन्।
मधेस प्रदेश कृषि मन्त्रालयका अनुसार हालसम्म ती जिल्लाहरूमा करिब ४६ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ।
प्रतिक्रिया दिनुहोस्