काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न, १४,१७३ विद्यार्थी सहभागी, आइतबारसम्म नतिजा प्रकाशित हुने


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्तिको लागि आयोजना गरेको प्रवेश परीक्षा शनिबार सम्पन्न भएको छ।

बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन भएको यो परीक्षा राजधानीसहित देशभरका ५४ वटा परीक्षा केन्द्रहरूमा मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गरिएको महानगरको शिक्षा विभागले जनाएको छ।

देशका ७७ वटै जिल्लाबाट प्राप्त १७ हजार २२९ आवेदनमध्ये छनोटमा परेका १६ हजार १३७ विद्यार्थीहरूमध्ये १४ हजार १७३ जना विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए।

कक्षा १० को पाठ्यक्रममा आधारित यस परीक्षामा गणित, विज्ञान, अङ्ग्रेजी र सामान्य ज्ञान विषयमा कुल १०० वटा बहुवैकल्पिक प्रश्न सोधिएको थियो। गलत उत्तरका लागि नकारात्मक अंकन नराखिएको र उत्तीर्ण हुन कम्तीमा ४० प्रतिशत अंक आवश्यक हुने व्यवस्था गरिएको थियो।

परीक्षाको उत्तरपुस्तिका OMR (Optical Mark Recognition) प्रणालीद्वारा जाँच भइरहेको छ। यस प्रणालीमार्फत मेसिनले उत्तरपुस्तिकालाई स्क्यान गरी स्वचालित रूपमा परीक्षण गर्ने भएकाले नतिजा छिटो र निष्पक्ष रूपमा आउने शिक्षा विभागको भनाइ छ। सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार, उत्तरपुस्तिका जाँच प्रक्रिया सुरू भइसकेको छ र आइतबार बिहानसम्म नतिजा प्रकाशित गरिनेछ।

नतिजा काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट https://entrance.kathmandu.gov.np/ मा हेर्न सकिनेछ। एसइइको सिम्बोल नम्बर, अल्फाबेट, जीपिए तथा फाराम भर्दा प्रयोग गरिएको इमेल वा एसमएस मार्फत प्राप्त पासवर्ड प्रयोग गरी नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ।

महानगरका अनुसार, १६० संस्थागत विद्यालयमा झण्डै ४ हजारभन्दा बढी छात्रवृत्ति सिट उपलब्ध छन्। ती सिटहरूमा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई ४० प्रतिशत, संस्थागत विद्यालयमा छात्रवृत्तिमा पढेका विद्यार्थीलाई ५ प्रतिशत, काठमाडौं महानगरका स्थायी बासिन्दालाई १४ प्रतिशत र ल्यान्डफिल्ड प्रभावित क्षेत्रका विद्यार्थीलाई १ प्रतिशत प्राथमिकता दिइनेछ। साथै, महिला, दलित, आदिवासी/जनजाति, मधेसी, थारू, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पछाडि परेका क्षेत्रका बासिन्दा तथा शहीद/बेपत्ता परिवारका लागि छुट्टै आरक्षण कोटा समेत छुट्याइएको छ।

OMR प्रणालीबाट प्राप्त अंकका आधारमा योग्यताक्रम तयार पारिनेछ र विद्यार्थीहरूले फारम भर्दा उल्लेख गरेका विद्यालय तथा विषयको प्राथमिकताअनुसार मनोनयन गरिनेछ।

प्रारम्भिक मनोनयन सूची प्रकाशन भएपछि तीन दिनभित्र सम्बन्धित विद्यालयमा भर्ना हुनुपर्नेछ। तोकिएको समयावधिमा भर्ना नभएमा रिक्त सिटहरूमा योग्यताक्रमका आधारमा दोस्रो सूची प्रकाशित गरिनेछ। दोस्रो सूचीबाट पनि भर्ना प्रक्रिया पूरा नभएमा, बाँकी सिटमा Wrap-up कोटाअन्तर्गत योग्यताक्रमका आधारमा फेरि मनोनयन गरिने र सूचना प्रकाशित गरिने शिक्षा विभागले स्पष्ट पारेको छ।