एसईई पास विद्यार्थी सम्मान कार्यक्रममा दर्शन ब्राण्डको मोही वितरण, स्वदेशी उत्पादनप्रति जागरुकता


काठमाडौँ । काठमाडौँमा सञ्चालित निजी विद्यालयहरूको छाता संगठन स्याटले एसईई २०८१ पास गरेका विद्यार्थीहरूलाई सम्मान तथा विदाई गर्ने कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमलाई विशेष बनाउँदै उक्त कार्यक्रममा हिमालयन डेरी एण्ड रिसर्च सेन्टर, काभ्रे बनेपाले उत्पादन गरेको ‘दर्शन’ ब्राण्डको मोही उपस्थित सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा कर्मचारीलाई निःशुल्क रूपमा सेवन गराइएको छ।

मोही वितरणको साथसाथै, स्वदेशी दुग्धजन्य पदार्थको प्रचारप्रसार र आयातित पेय पदार्थको विकल्पस्वरूप मोहीको उपयोगबारे जानकारीसमेत प्रदान गरिएको थियो। स्वस्थ जीवनशैलीको प्रोत्साहन तथा स्वदेशी उत्पादनको उपयोगमा जोड दिँदै आयोजकले मोही सेवन गर्नु नै उपयुक्त विकल्प भएको सन्देश फैलाएका छन्।

नेपाल डेरी एसोसिएसनले विगत दुई वर्षदेखि आफ्ना सदस्य संस्थाहरूको सहयोगमा प्रत्येक शनिबार दरबारमार्गस्थित ओरिएन्ट क्याफेमा सञ्चालन हुँदै आएको ‘रैथाने कृषि उपज बिक्री हाटबजार’ मार्फत निःशुल्क मोही वितरण गर्दै आएको छ। अभियानलाई थप प्रभावकारी बनाउँदै विभिन्न सार्वजनिक कार्यक्रमहरूमा समेत एसोसिएसनअन्तर्गतका सदस्य डेरीहरूले मोही वितरण गर्दै मोहीबारे जनचेतना फैलाउँदै आएका छन्।

हाल नेपालमा ३८ ब्राण्डमा मोही उत्पादन भइरहेको छ। उपत्यकामा पहिलोपटक नवप्रभात डेरी, ललितपुरले ‘प्रभात’ ब्राण्डमार्फत मोही बजारमा ल्याएको थियो भने दोस्रो ठूलो उत्पादकका रूपमा हिमालयन डेरी, बनेपाको ‘दर्शन’ ब्राण्डले बजार विस्तार गरेको छ। हाल देशभर करिब ३० हजार लिटर लेबलिङ र प्याकेजिङ गरिएको मोही औपचारिक रूपमा बिक्री हुँदै आएको छ भने अनौपचारिक रूपमै करिब दुई लाख ५० हजार लिटर मोही मासिक रूपमा खपत हुने गरेको तथ्याङ्कले देखाउँछ।

यो तथ्याङ्कले नेपाल डेरी एसोसिएसनले सञ्चालनमा ल्याएको मोही अभियानको सकारात्मक प्रभाव झल्काउँछ। केही वर्षअघिसम्म ग्रामीण परिवेश वा न्यून आर्थिक हैसियतसँग जोडिएको मानिने मोही आज शहरी भुइँदेखि भोजभतेर, शुभकार्य र सार्वजनिक कार्यक्रममा प्रमुख पेयको रूपमा स्थापित भइसकेको छ।

स्वदेशी उत्पादनको खपतले विदेशी मुद्रा बाहिरिन नदिने, नेपाली किसानको दुध नेपालमै खपत गराउने र उपभोक्तालाई स्वदेशी, स्वास्थ्यकर विकल्प उपलब्ध गराउने जस्ता सकारात्मक प्रभावहरू दिइरहेको मोही अभियानलाई अझ सशक्त रूपमा अघि बढाउनु आवश्यक भएको धारणा कार्यक्रममा व्यक्त गरिएको थियो।