इमान्दार र प्रविधिमैत्री इन्जिनियरको खाँचो छः उपप्रधानमन्त्री सिंह


ललितपुर । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान शहरीकरणको चुनौतीसँग जुझ्न इमान्दार, जिम्मेवार र प्रविधिसँग चल्नसक्ने क्षमता भएका सक्षम इन्जिनियरहरूको खाँचो रहेको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित ६३औं इन्जिनियर्स डेको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सिंहले यस्तो आवश्यकता औंल्याएका हुन्।

उनले आजको दिनमा शहरीकरण तीव्र रूपमा बढ्दै गएकाले योजनावद्ध र समावेशी शहरी विकासका लागि इन्जिनियरहरुको सक्रियता अत्यावश्यक रहेको बताए। “आजको शहरीकरणको तिव्र गतिमा हामीलाई इमान्दार, जिम्मेवार र प्रविधिसँग चल्नसक्ने क्षमता भएका सक्षम इन्जिनियरहरुको खाँचो छ,” उनले भने, “योजनावद्ध र समावेशी शहरीकरण सम्भव छ, तर यो इन्जिनियरहरुको सक्रिय सहभागिता बिना कल्पना गर्न सकिँदैन।”

सडक, खानेपानी, जनविकास, आवास, सार्वजनिक भवन तथा हरित पूर्वाधार निर्माणमा इन्जिनियर तथा आर्किटेक्टह?को योगदान अनुपम रहेको उल्लेख गर्दै सिंहले जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, जनसंख्याको चाप र अव्यवस्थित बसोबासजस्ता चुनौतीसँग जुध्न प्राविधिक समाधानसहित नीति निर्माणमा समेत इन्जिनियरको भूमिका आवश्यक भएको बताए।

कार्यक्रममा सिंहले सरकार इन्जिनियरहरुको पेशागत सशक्तिकरण, सरक्षण तथा वृद्धि र विकासको मार्गमा सकारात्मक सहयोग गर्न तयार रहेको स्पष्ट पारे।