स्याङ्जा आसपासमा बाढी–पहिरोको जोखिम, सतर्क रहन आग्रह


स्याङ्जा ।मौसम पूर्वानुमान महाशाखाले सोमबारसम्म देशभर हल्कादेखि अत्यधिक वर्षा हुने जनाएसँगै स्याङ्जा जिल्ला प्रशासन कार्यालयले नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

कार्यालयका अनुसार हाल गण्डकी प्रदेशका अधिकांश भूभागमा हल्का देखि मध्यम वर्षा भइरहेको छ भने केही स्थानहरूमा भारी वर्षा भइरहेको जनाइएको छ। यस्तो अवस्थामा कालीगण्डकी नदी, आँधिखोला लगायतका स्थानीय खोलाहरूमा पानीको सतह बढ्ने सम्भावना रहेको भन्दै आसपासका क्षेत्रमा बाढी तथा पहिरोको जोखिम उच्च रहेको कार्यालयले उल्लेख गरेको छ।

“खासगरी सिद्धार्थ राजमार्ग लगायतका ग्रामीण सडकहरूमा सवारी चलाउँदा विशेष सतर्कता अपनाउनुहोस्,”सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलद्वारा जारी सूचनामा भनिएको छ, “अत्यावश्यक बाहेकका यात्रा टार्नुस् र ट्राफिक प्रहरी तथा सुरक्षा निकायको निर्देशन पालना गर्नुस्।”

जिल्ला प्रशासनले नागरिकहरू, स्थानिय तह, निर्माण कम्पनी, सञ्चारमाध्यम र सबै सरोकारवाला निकायहरूलाई जोखिम न्युनिकरणका लागि आवश्यक तयारी अवस्थामा रहन पनि आग्रह गरेको छ।