मिडिया काउन्सिल सरकारबाट पूर्णरूपमा अलग भएर बस्न सक्दैनः मन्त्री गुरुङ


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिललाई स्वतन्त्र र स्वायत्त संयन्त्रको रूपमा विकास गरिनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतवारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

काउन्सिललाई स्वायत्त र स्वतन्त्र संयन्त्रको रूपमा विकास गरिएपनि सरकारसँग कुनै न कुनै रुपमा जोडिनुपर्ने भएको कारण सरकारबाट टाढा राख्न नसकिने जिकिर गरे । मिडिया काउन्सिल स्वतन्त्र र स्वायत्त संयन्त्र भएपनि सरकारबाट पूर्णरूपमा अलग भएर बस्ने कुरा सम्भव नहुने उनको भनाइ छ ।

सञ्चार क्षेत्रमा अनुशासन र मर्यादा आवश्यक भएकाले त्यसका लागि स्वतन्त्र संयन्त्रको विकास गर्न खोजिएको ऐन निर्माण लागिएको पनि बताए । मन्त्री गुरुङले सामाजिक सञ्चालको माध्यमबाट हुने साइबर अपराधको अवस्था गम्भीर भइरहेको भन्दै चिन्ता समेत व्यक्त गरे ।

उनका अनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्म १९ हजार ७३० वटा साइबर अपराध सम्बन्धी उजुरी परेका छन् । उनले सामाजिक सञ्जालमार्फत हुन अपराध नियन्त्रणका लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गरिसकेको पनि बताए ।

राष्ट्रिय सभाबाट पास भएर आएको मिडिया काउन्सिल विधेयकमाथि समितिले सैद्धान्तिक छलफल सकाएको छ । समितिको सोमवार मंगलवारको बैठकमा संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने समितिको तयारी छ ।