काठमाडाैँ । देशका अधिकांश भागमा आगामी तीन दिनसम्म वर्षा जारी रहने देखिएको छ ।
विशेषगरी आज आइतबार दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशका साथै पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना देखिएको छ ।
वरिष्ठ मौसमविद् शान्ति कँडेलले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा विगत २४ घण्टामा कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा धेरै भारीदेखि अति भारी वर्षा मापन भएको बताइन् । बाँकी प्रदेशहरूमा पनि भारीदेखि धेरै भारी वर्षा मापन भएको उनले जानकारी दिइन् । उनका अनुसार आगामी तीन दिनसम्म देशभर हल्कादेखि मध्यम वर्षा जारी रहनेछ ।
कोशी प्रदेशको धनकुटामा १९५ मिलिमिटर र गण्डकी प्रदेशको कास्कीको लुम्लेमा १९४ मिलिमिटर वर्षा मापन गरिएको छ । कोशी र गण्डकी प्रदेशका केही अन्य स्थानहरूमा पनि सय मिलिमिटरभन्दा बढी वर्षा मापन भएको मौसमविद् कँडेलले जानकारी दिइन् । यस्तो अवस्थामा वर्षाले थप असर पुर्याउन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई विशेष सतर्कता अपनाउन उनले आग्रह गरिन् ।
उनले भनिन्, “दैनिकजसो वर्षा भइरहेकाले थोरै मात्रामा परेको पानीले पनि पहिरो र बाढीको जोखिम बढ्न सक्छ । सडक यातायात गर्दा विशेष ध्यान दिनुपर्छ । जुन ठाउँमा बस्दै आउनुभएको छ, त्यहाँ पहिरो वा बाढीको जोखिम छ कि छैन भन्ने मूल्यांकन गर्नु आवश्यक छ ।”
मधेस प्रदेशको धनुषास्थित जल तथा मौसम विज्ञान विभागको तुल्सी केन्द्रमा २४ घण्टामा ६६ मिलिमिटर भारी वर्षा मापन गरिएको छ । त्यसैले मधेसमा पनि हाल हल्कादेखि मध्यम वर्षा भइरहेको र आज राति भारी वर्षा हुने सम्भावना रहेको छ । आगामी दिनमा पनि मधेस सुख्खा नहुने स्पष्ट पार्दै मौसमविद्हरूले पर्याप्त पानी भने नपर्न सक्ने बताएका छन् ।
यस वर्ष नेपालमा मनसुनी न्युन चापीय रेखा नेपालकै नजिक रहेकाले मनसुन सक्रिय देखिएको मौसमविद् कँडेलले बताइन् । उनले भनिन्, “मनसुन सुरू हुँदा प्रिमनसुन र मनसुन दुवैको असर देखिन्छ । अहिलेको वर्षा मनसुनी वायुकै प्रभाव हो । जलवाष्पयुक्त हावा पहाडी भेगमा ठोक्किएर माथिल्लो वायुमण्डलमा पुगेपछि बादल बन्ने र पानी पर्ने प्रक्रिया भएकोले वर्षा पहाडी क्षेत्रमा बढी केन्द्रित हुने गर्दछ ।”
काठमाडौँ उपत्यकामा पनि आज दिनभर मौसम बदली रहनेछ भने वर्षाको सम्भावना पनि उच्च रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्