काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरुका लागि लाभांश वितरण सम्बन्धी मार्गदर्शन, २०८२ जारी गरेको छ ।
राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्था (बैंक तथा वित्तीय संस्था बाहेक) का लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२ लागू गरेको हो ।
राष्ट्र बैंकले लाभांश वितरणका लागि विभिन्न पूर्वसर्तहरु राखेको छ । जसमा लाभांश घोषणा गर्दा संचित मुनाफा ऋणात्मक नरहेको, संस्था मुनाफामा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्र लाभांश घोषणा गर्नुपर्ने उल्लेख गरिएकाे छ ।
शेयर प्रिमियम एवं बार्गेन पर्चेज गेन बाट नगद लाभांश घोषणा गर्न नपाईने एवं शेयर लाभांश वितरण गर्दा संस्थाको नेटवर्थ ऋणात्मक नरहेको, नगद लाभांश घोषणा गर्दा पर्याप्त नगद मौज्दात हुनुपर्नेछ ।
संस्थाले उपभोग गरेको कर्जासँग सम्बन्धित शर्तहरुले लाभांश वितरण बन्देज गरेको अवस्था नरहेको, राष्ट्र बैंकबाट भएको स्थलगत एवं गैरस्थलगत निरीक्षणका क्रममा वित्तीय दायित्व सिर्जना हुन सक्ने गम्भिर प्रकृतिका कैफियत रहेको अवस्था नरहेको हुनुपर्ने उल्लेख गरिएको छ ।
यस्तै, भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरुले जोखिम बहन कोष र जगेडा कोषको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।
कोषमा मुनाफाको निश्चित प्रतिशत रकम छुट्याउने सम्बन्धमा उल्लेख गर्नुपर्ने छ । जोखिम बहन कोषको रकम संस्थालाई अप्रत्याशित रुपमा आइपर्ने घटनाबाट हुने क्षतिको व्यवस्थापनको लागि प्रयोग गर्न सकिन्छ भने कोषहरुबाट भएको खर्चको विवरण राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने जनाइएको छ ।
भुक्तानी प्रणाली सञ्चालकले पूर्वाधार विकास कोषको व्यवस्था गरेर मुनाफाको निश्चित प्रतिशत रकम कोषमा जम्मा गर्ने व्यवस्था गर्नुपर्ने छ । यस्तो कोषको रकम संस्थाको पूर्वाधार विस्तारमा खर्च गर्न सकिने उल्लेख गरिएको छ । यस्तै, नेपाल राष्ट्र बैंकले तोकेका अन्य कोषहरुमा जम्मा गर्नुपर्ने रकम पनि जम्मा गर्नुपर्ने छ ।
राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुले आर्जन गरेको मुनाफाको बाँडफाँड तथा लाभांश वितरण व्यवस्थालाई पारदर्शी एवं थप व्यवस्थित बनाउन मार्गदर्शन जारी गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्