कोकाकाेलाले नेपाल सरकारलाई तिर्नुपर्ने कर दायित्व साढे १५ अर्ब नाघ्यो


काठमाडौं । बहुराष्ट्रिय कार्बनयुक्त पेय पदार्थ कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट  बोटलर्स नेपाल लिमिटेडले नेपाल सरकारलाई तिर्नुपर्ने कर दायित्व १५ अर्ब ६० करोड रुपैयाँ नाघेको छ ।

करिब साढे तीन दशकदेखि पटकपटक नेपाल बाहिर नै स्वामित्व किनबेच हुँदै आएको बोटलर्स नेपाल लिमिटेडको सबैभन्दा पछिल्लो २०७२ सालको स्वामित्व किनबेचमा पुँजीगत लाभकर छलीसँगै गरिएका थप कर मूल्याङ्कनहरूले यो कर दायित्व हरेक वर्ष बढ्दै गएको हो ।

कोकाकोला कम्पनीले कर दायित्व राफसाफ गर्नुका सट्टा अदालतमा मुद्दा हालेर कर नतिर्ने रणनीति अपनाएसँगै आयकर ऐन-२०५८ अनुसार तिर्नुपर्ने करमा ब्याज र जरिवाना थपिँदै गएको हो ।

साख निर्धारण कम्पनी इक्रा नेपालका अनुसार गत वर्ष अर्थात् अप्रिल २०२४ मा बोटलर्स नेपाल लिमिटेडको करिब १२ अर्ब ८ करोड  रुपैयाँको कर दायित्व रहेकोमा  यस वर्ष अर्थात जुलाई २०२५ को पछिल्लो मूल्याङ्कन प्रतिवेदनअनुसार यो रकम बढेर कुल १५ अर्ब ६ करोड रुपैयाँ पुगेको हो। 

बोटलर्स नेपाल लिमिटेडको सहायक कम्पनी बोटलर्स नेपाल (तराई) लिमिटेडमाथि  २अर्ब ८० करोड रुपैयाँको नयाँ कर निर्धारण थपिएपछि बोटलर्सले सरकारलाई तिर्नुपर्ने कुल कर बाँकी १६ अर्ब ८० करोड रुपैयाँ नाघेको हो ।यो  कर दाबी कम्पनीको खुद सम्पत्ति र वार्षिक सञ्चालन नाफाभन्दा अधिक हो 

बोलटर्स  तराईले  थप कर दायित्वको २५ प्रतिशत अर्थात् करिब ६९ करोड ३० लाख रुपैयाँ  धरौटी बुझाएर कर पुनरावलोकनको निवेदन दिएको छ । 

कारोबार र नाफा निरन्तर घट‍्दै 

बोटलर्स नेपाल लिमिटेडको सञ्चालन आम्दानीमा आर्थिक वर्ष २०८०/८१ मा करिब १० प्रतिशतले  कम भएको । कम्पनीको आम्दानी आव २०७९/८० मा १२ अर्ब ६४ करोड रुपैयाँबाट आव २०८०/८१ मा ११.३८ अर्ब रुपैयाँमा झरेको छ। आव २०८१/८२ को तेस्रो त्रैमासिकमा  ७  अर्ब १० करोड रुपैयाँमा आइपुगेको छ गोदाममा कच्चा पदार्थ र तयारी वस्तुहरूको थुप्रो लाग्नु, ग्राहकबाट पैसा उठाउन लाग्ने समय बढ्नु र कर दाबीका लागि ठूलो  रकम जम्मा गरेका कारण बोटलर्स नेपालको नगद प्रवाहमा असर पारेको इक्रा नेपालको प्रतिवेदनमा उल्लेख छ ।