देशभर ७२ प्रतिशत धान रोपाइँ, मधेशमा ४६ प्रतिशत मात्र


काठमाडौँ । हालसम्म देशभर ७२.१४ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २०८२ साल साउन ४ गतेसम्म देशभर कुल १३ लाख ८३ हजार ७३२ हेक्टर धान रोपाइयोग्य जमिनमध्ये ९ लाख ९८ हजार २२८ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको हो।

अघिल्लो वर्षको सोही मितिसम्म ८४.६ प्रतिशत रोपाइँ भइसकेको थियो। त्यसको तुलनामा यो वर्षको रोपाइँको प्रगति कम रहेको मन्त्रालयले जनाएको छ।

प्रदेशगत विवरण अनुसार सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९६.९९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। सो प्रदेशमा कुल १ लाख ७६ हजार १५१ हेक्टर जमिनमध्ये १ लाख ७० हजार ८४३ हेक्टरमा रोपाइँ भइसकेको छ। कर्णाली र लुम्बिनी प्रदेशमा समान रूपमा ८७.९३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। त्यसैगरी, बाग्मती प्रदेशमा ८७.१९ प्रतिशत र गण्डकी प्रदेशमा ७९.२८ प्रतिशत रोपाइँ भएको छ।

मधेस प्रदेशमा भने हालसम्म ४६.८३ प्रतिशत मात्र रोपाइँ भएको छ, जुन सबैभन्दा कम हो। कोशी प्रदेशको अवस्था पनि कमजोर देखिएको छ, जहाँ ६१.७९ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ।

यसबिच गत शुक्रबार मधेस प्रदेशका आठ जिल्लामा सुख्खाका कारण रोपाइँ ठप्प भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ती जिल्लामा अध्ययन टोली खटाउने निर्णय गरेको छ।

शुक्रबार कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालय तथा मातहतका निकायका कर्मचारीहरूसँग छलफल गरी समस्या समाधानका लागि तत्कालै टोली पठाउन निर्देशन दिएका थिए। उक्त निर्देशन अनुसार प्रत्येक जिल्लामा केन्द्रबाट दुई–दुई जना कृषि प्राविधिकको टोली आजबाट खटिने निर्णय भएको हो।

टोलीले हालको अवस्था, समस्या समाधानका लागि गर्न सकिने तत्कालीन तथा दीर्घकालीन उपायहरूको अध्ययन गर्नेछ। साथै, टोलीले मधेस प्रदेशमा कार्यरत मन्त्रालय अन्तर्गतका कार्यक्रम र आयोजनाका कर्मचारीहरूसँग समेत समन्वय गर्नेछ। मधेस प्रदेश सरकारले केही दिनअघि लगातारको सुख्खीका कारण खानेपानीको अभाव र धान रोप्न नसकिएको अवस्था देखाउँदै उक्त क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ।