म्यानमार ‘अटो एक्स्पो २०२५’ मा चिनियाँ इभी ब्रान्डहरूको वर्चस्व


काठमाडौँ । म्यानमारको राजधानी याङ्गुनस्थित याङ्गुन कन्भेन्सन सेन्टरमा सम्पन्न ‘म्यानमार अन्तर्राष्ट्रिय अटो एक्स्पो २०२५’ मा चिनियाँ विद्युतीय सवारी साधन (ईभी) हरूको बाहुल्यता देखिएको छ।

तीन दिनसम्म चलेको उक्त अटो एक्स्पोमा ३० भन्दा बढी ब्राण्डहरूले सहभागिता जनाएका थिए, जसमा धेरैजसो चिनियाँ कम्पनीहरू थिए। प्रदर्शनीमा राखिएका सवारी साधनहरूमा चम्किला ड्यासबोर्ड, कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसहितका सुविधा र नवीन प्रविधिको झल्को पाइन्थ्यो।

ईभीप्रतिको चासो बढ्दो देखिएको यस प्रदर्शनीमा स्थानीय तथा विदेशी आगन्तुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रदर्शनीमा देखिएको उत्साहले म्यानमार विद्युतीय सवारीको सम्भावित बजारका रूपमा विकसित हुँदै गएको संकेत दिएको छ।

सफा ऊर्जा र आधुनिक प्रविधिमा आधारित अटोमोबाइल भविष्यतर्फको यात्रामा म्यानमारको चासो र अग्रसरताले चिनियाँ कम्पनीहरूलाई उक्त बजारमा अझ आकर्षित गराएको देखिन्छ।