विद्यालय शिक्षा विधेयक यथाशिघ्र पास गर्न एमाले सांसद गैरेको आग्रह


काठमाडाैँ । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले विद्यालय शिक्षा विधेयक यथासिघ्र पारित गर्न समितिको ध्यानाकर्षण गराएका छन् ।

सोमबारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बौल्दै सांसद गैरेले शिक्षा विधेयकमा सबै चासो र ध्यानाकर्षण भएको उल्लेख गर्दै यथाशिघ्र पारित हुनुपर्ने बताएका हुन् ।

सरकारले शिक्षक महासंघसँग सहमति गर्ने भन्दै समय विधेयक पारित गर्न माग गरेको थियो । शिक्षकका माग देखाइए पनि निजी विद्यालय सञ्चालक र राजनीतिक दलका नेताहरूको चलखेलका कारण शिक्षा विधेयक पास हुन रोकिएको कतिपयको टिप्पणी छ ।

सांसद गैरेले कानून निर्माण प्रक्रियामा भइरहेका कमजोरीले संसदको गरिमा घट्दै गइरहेको पनि बताए । उनले कानून निर्माण प्रक्रियामा सबै संवेदनशील हुनुपर्ने उनको धारणा छ । 

उनले भने, “लामो समयदेखि हाम्रो शिक्षा क्षेत्रले विद्यालय शिक्षा विधेयकका बारे धेरै चासो र धेरै पटक सम्झौता गरिसकेको अवस्था छ । यसप्रति धेरै ठूलो ध्यानाकर्षण छ । त्यसकारण विद्यालय शिक्षा विधेयकको समेत लिड गरिरहेको समिति भएको हुनाले त्यो विधेयक यथाशिघ्र समितिबाट पारित भएर संसदबाट समेत पास होस् भन्ने अपेक्षा राख्छु । र त्यसको लागि म ध्यानाकर्षण समेत गर्न चाहन्छु ।”

उनले सांसदहरुको जिम्मेवारीमाथि प्रश्न उठ्ने खालको गतिविधि हुन नदिन आग्रह गरे ।