पशुपतिमा ११ हजारभन्दा बढी भक्तजनलाई निःशुल्क रुद्राक्षमाला वितरण


काठमाडौँ । महाशिवरात्री र साउनको पहिलो सोमबारका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूलाई निःशुल्क रुद्राक्षमाला र पानी वितरण गरिएको छ। शिव भक्तजनहरूको सुविधाका लागि आयोजित उक्त धार्मिक सेवामा हजारौं भक्तजनले लाभ उठाएका छन्।

संघका केन्द्रीय अध्यक्ष मनोज कुमार चापागाईंको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भक्तजनलाई महादेवको प्रसादस्वरूप रुद्राक्षमाला प्रदान गरिएको हो। कार्यक्रममा रुद्राक्ष व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो। भोजपुर जिल्ला उपाध्यक्ष सुशान्त श्रेष्ठका अनुसार कार्यक्रममार्फत ११ हजार १ सय १ वटा रुद्राक्षमाला वितरण गरिएको छ।

हिन्दू धर्म अनुसार रुद्राक्षलाई अत्यन्तै पवित्र र वैदिक शक्तिले भरिएको धार्मिक माला मानिन्छ। यस्ता रुद्राक्षहरूको उत्पादन नेपालका भोजपुर, संखुवासभा, धनकुटा लगायत ४० भन्दा बढी जिल्लामा हुने गर्दछ।

संघका अध्यक्ष चापागाईंका अनुसार हाल नेपालबाट वार्षिक तीनदेखि चार अर्ब रुपैयाँ बराबरको रुद्राक्ष विदेशमा निर्यात हुने गरेको छ। त्यसैगरी काठमाडौँ जिल्ला अध्यक्ष सुवोध श्रेष्ठले अहिले नेपालमै पनि खादा र मालाको विकल्पका रूपमा रुद्राक्ष प्रयोग हुने चलन बढ्दो रहेको जानकारी दिए।