शशांकको दाबीः पूर्व-पश्चिम राजमार्गको कल्पना विपीको हो


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद डा. शशांक कोइरालाले पूर्व-पश्चिम राजमार्गको कल्पना विश्वेश्वरप्रसाद कोइरालाले गरेकाे बताएका छन् ।

विपी संग्रहालय सुन्दरीजलमा मंगलवार विपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजा महेन्द्रले राजमार्गको निर्माण गरेपनि कल्पना विपीको रहेको बताएका हुन् ।

उनले अहिले देश धेरै विकसित भइसकेको भन्दै अझै परिवर्तन गर्न जरुरी रहेको बताए । नेपालमा जनताको सेवाको लागि सबैभन्दा धेरै काम गर्ने व्यक्ति विपी भएको दाबी गर्दै देशको लागि विपीले गरेकाे काम जति अरूकसैले पनि गर्न नसकेको बताए ।

“अहिले सुन्दरीजल आउँदा धेरै परिवर्तन भएको महशुस भयो । विपी सम्झिँदा आँशु आउँछ । उहाँले जति देशको लागि गर्नुभयो, मलाई लाग्छ कसैले पनि त्यति गरेको छैन । १२—१४ वर्ष त जेल बस्नुभयो । भारतमा आन्दोलनमा जेल बस्नुभयो । पूर्व—पश्चिम राजमार्गको कल्पना सायद विपीले गर्नुभएको थियो । हुनतः महेन्द्र सरकारले गर्नुभयो । तर कल्पना विपी कोईरालाको थियो,” उनले भने।