नेपालको अटोमोबाइल उद्योगमा अहिले तीव्र गति र परिवर्तन देखिएको छ । विद्युतीय सवारीसाधनप्रतिको चासो बढ्दै गएको छ भने नीति, कर र पूर्वाधार सम्बन्धी बहसहरू पनि उत्तिकै चर्किएका छन् । यतिबेला आयातकर्ता तथा उत्पादक कम्पनीहरूको आवाज नीतिनिर्माण तहमा पुर्याउने भन्दै नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा) को स्थापना भएको छ ।
सोही सन्र्दभमा अटो व्यवसायमा लामो अनुभव बोकेका व्यवसायी शारडा ग्रुपका निर्देशक तथा नाइमाका सदस्य गौरब शारडासँग पहिलो पटक आयोजना हुन लागेको नाइमा मोबिलिटी एक्स्पोको उद्देश्य, बजारको प्रवृत्ति, व्यवसायीका गुनासा, विद्युतीय सवारीका सम्भावना र चुनौती जस्ता विषयमा टक्सारन्युजले गरेको कुराकानी :
अटोमोबाइल क्षेत्रमा नाडाजस्तो ५० वर्ष पुरानो संस्था हुँदाहुँदै नाइमाको स्थापना किन आवश्यक भयो? अहिले यी दुई संस्थाहरू प्रतिस्पर्धी जस्ता देखिएका छन्, वास्तविकता के हो ?
नाइमा र नाडाबीचको सम्बन्ध अब नयाँ विषय रहेन, यसबारे पहिलेदेखि नै चर्चा हुँदै आएको छ । नाइमा गठन गर्नुको मुख्य उद्देश्य अटोमोबाइलका आयातकर्ता र उत्पादनकर्तामा मात्र केन्द्रित एक विशेष संस्था निर्माण गर्नु थियो ।
नाडाले अटोमोबाइल क्षेत्रका बृहत् पक्षहरू जस्तैः गाडीको बिक्री, सेवा, पार्टपुर्जा, र वितरणलाई समेट्छ । तर, हामीले गाडीको आयात र उत्पादनजस्ता महत्त्वपूर्ण विषयमा मात्र केन्द्रित भएर काम गर्न सक्ने एउटा छुट्टै संस्थाको आवश्यकता महसुस गर्यौँ, जहाँ यिनै मुद्दालाई प्राथमिकता दिएर नीतिगत तहमा काम गर्न सकियोस् ।
यही सोच र आवश्यकताबाट नाइमा जन्मिएको हो । नाइमा नाडाको प्रतिस्पर्धी वा यसको कामलाई विस्थापित गर्ने संस्था किमार्थ होइन । बरु, नाइमाले आफूले रोजेको विशेष क्षेत्र, अर्थात् आयात र उत्पादनमा केन्द्रित भई प्रभावकारी भूमिका निर्वाह गर्ने लक्ष्य राखेको छ । तसर्थ, हामी प्रतिस्पर्धामा होइन, स्पष्ट भूमिकासहितको सहकार्यको भावना लिएर अगाडि बढेका छौँ ।

नेपालको अटो बजारको वर्तमान अवस्था कस्तो छ? नीतिगत प्रभावले बजारलाई स्थिर बनाएको छ कि अस्थिर ?
यसपटकको बजेटमा सरकारले विद्युतीय सवारीका हकमा करको दर हेरफेर गरेन, जुन सकारात्मक छ । विगतमा एक वर्ष कर बढाउने, अर्को वर्ष घटाउने प्रवृत्तिले बजारमा अस्थिरता ल्याउँथ्यो, तर यसपटक त्यो देखिएन । अर्थमन्त्रीज्यूले करको संरचनालाई स्थिर राख्दा हामीले एक प्रकारको नीतिगत स्थिरताको अनुभूति गरेका छौँ ।
व्यवसायका लागि नीतिगत स्थिरता निकै महत्त्वपूर्ण हुन्छ । आयातकर्ताले आफ्नो अन्तर्राष्ट्रिय साझेदारसँग वार्षिक रूपमा निश्चित संख्यामा गाडी ल्याउने प्रतिबद्धता जनाएका हुन्छन् । त्यो प्रतिबद्धता पूरा गर्न कर स्थिर रहनु जरुरी छ । यदि करको दर एक्कासि बढाइयो भने त्यसले वर्षभरिको व्यावसायिक योजनालाई असर गर्छ ।
जहाँसम्म बजेटअघि गाडी आयात बढ्नुको कुरा छ, व्यवसायीले करबाट बच्न मात्र गाडी ल्याउँछन् भन्ने कुरा पूर्ण सत्य होइन । कर एउटा पक्ष होला, तर बजारको माग पनि त्यति नै महत्त्वपूर्ण हुन्छ । हाम्रो बजार दसैँ–तिहारजस्तै बजेटअघि पनि निकै सक्रिय हुन्छ, किनभने ग्राहकहरूमा बजेटपछि मूल्य बढ्ने हो कि भन्ने मनोविज्ञान हुन्छ । त्यसैले, अहिले बजार मागअनुसार नै चलिरहेको छ र नीतिगत स्थिरताले पनि केही सहज बनाएको छ ।
नाइमाले पहिलोपटक ‘मोबिलिटी एक्स्पो’ आयोजना गर्दैछ । यहाँ कस्तो प्रतिस्पर्धाको अपेक्षा गर्न सकिन्छ? तपाईंको आफ्नो ब्रान्डको तयारी कस्तो छ ?
प्रतिस्पर्धा जति स्वच्छ हुन्छ, त्यति नै व्यावसायिक र रोचक पनि हुन्छ । हामी स्वच्छ प्रतिस्पर्धामा विश्वास गर्छौँ । यसपटकको मोबिलिटी एक्स्पो अटो क्षेत्रकै लागि ऐतिहासिक हुनेछ । करिब ५० वटा ब्रान्डले यसमा सहभागिता जनाउँदैछन्, जुन नेपालको इतिहासमै पहिलोपटक हो ।
यसले ग्राहकहरूमा देखिएको उत्साहलाई पनि प्रस्ट पार्छ । उहाँहरू यो एक्स्पोको व्यग्र प्रतीक्षामा हुनुहुन्छ । हामी पनि त्यो उत्साहलाई ध्यानमा राखेर तयारी गरिरहेका छौँ । हाम्रो कम्पनीले यस एक्स्पोमा ग्राहकको अपेक्षाअनुरूप दुईवटा नयाँ मोडल सार्वजनिक गर्दैछ । हामी प्रतिस्पर्धालाई अवसरका रूपमा लिन्छौँ र यो एक्स्पो हाम्रो लागि मात्र नभई सम्पूर्ण अटो उद्योगका लागि एक साझा उपलब्धिको मञ्च बन्नेछ भन्ने विश्वास लिएका छौँ ।

विद्युतीय सवारीमा उपभोक्ताको चासो बढे पनि केही कम्पनीले बिक्रीपछिको सेवा नदिएको गुनासो सुनिन्छ । यसमा तपाईंहरूको रणनीति के छ ?
अहिले बजारमा स्थापित सबै कम्पनीहरू बिक्रीपछिको सेवालाई व्यवस्थित बनाउन लागिपरेका छन् । किनभने, आजको प्रतिस्पर्धी बजारमा दीर्घकालीन रूपमा टिक्न चाहने कुनै पनि ब्रान्डले बिक्रीपछिको सेवामा सम्झौता गर्न सक्दैन ।
यदि कुनै कम्पनीले गाडी बेचेपछि सर्भिस दिन सक्दैन वा स्पेयर पाट्र्स सहज रूपमा उपलब्ध गराउन सक्दैन भने त्यो ब्रान्ड नेपाली बजारमा लामो समय टिक्न असम्भव छ ।
त्यसकारण, हामीले बिक्रीपछिको सेवालाई रणनीतिक रूपमा हेरेका छौँ । बलियो सर्भिस नेटवर्क, पाट्र्सको सहज उपलब्धता र ग्राहक सन्तुष्टि हाम्रो सर्वोच्च प्राथमिकता हो । हामी बिक्रीलाई व्यापारको अन्त्य होइन, ग्राहकसँगको दिगो सम्बन्धको सुरुवातका रूपमा लिन्छौँ । यही सोचले नै हामीलाई दीर्घकालीन बजारमा स्थापित हुन मद्दत गर्छ ।
विद्युतीय सवारीमा लामो दूरीको यात्राका लागि चार्जिङ स्टेसनको अभाव अझै खट्किन्छ । यसमा तपाईंहरूको योजना के छ ?
पछिल्लो छ महिनायता नेपालमा चार्जिङ स्टेसनको संख्या उल्लेखनीय रूपमा बढेको छ । हाल सरकारी स्वामित्वमा ५१ वटा चार्जिङ स्टेसन सञ्चालनमा छन् भने निजी क्षेत्रले पनि तीव्र गतिमा चार्जिङ पूर्वाधार विस्तार गरिरहेको छ । अहिले त लगभग दैनिकजसो नयाँ चार्जिङ स्टेसन उदघाटन भइरहेका छन् ।
हामी यसलाई माग र आपूर्तिको सन्तुलनका रूपमा हेर्छौँ । जब विद्युतीय सवारीको माग बढ्छ, त्यसले स्वाभाविक रूपमा चार्जिङ स्टेसन व्यवसायलाई पनि प्रोत्साहन गर्छ । यसबाहेक, विभिन्न ब्रान्डहरूले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा दिन निजी चार्जिङ स्टेसनहरू पनि स्थापना गरिरहेका छन् । हाम्रो कम्पनी पनि दीर्घकालीन सोचका साथ चार्जिङ पूर्वाधारमा लगानी गरिरहेको छ, ताकि ग्राहकहरूले लामो दूरीको यात्रा गर्दा पनि सहज र ढुक्क महसुस गर्न सकून् ।

विगतका अटो सोभन्दा नाइमा मोबिलिटी एक्स्पोमा के फरकपन हुनेछ ?
नाइमा मोबिलिटी एक्स्पो हामीले फरक सोचका साथ आयोजना गरेका छौँ । विगतका मेलाहरूमा ग्राहक तथा सहभागीले भोगेका समस्याहरू, चाहे त्यो जानकारीको अभाव होस् वा सेवा–सुविधाको कमी, ती सबैलाई मध्यनजर गरेर सुधारका उपायहरू अपनाएका छौँ ।
हामी नाइमामार्फत ग्राहक–मैत्री, सूचनामूलक र व्यावसायिक दृष्टिले एक सशक्त मञ्च प्रदान गर्न चाहन्छौँ । यसले कम्पनीहरूलाई आफ्नो प्रविधि र सेवा उत्कृष्ट ढंगले प्रस्तुत गर्न सहज बनाउनेछ भने ग्राहकलाई पनि आफ्नो रोजाइ स्पष्ट पार्न मद्दत गर्नेछ । नाइमा मोबिलिटी एक्स्पो केवल प्रदर्शनी मात्र नभएर अटो उद्योगको नीतिगत संवाद र उपभोक्ता अनुभव सुधार गर्ने एक साझा मञ्च पनि बन्नेछ ।
नाइमा अटो सोमा सहभागी हुँदा व्यवसायीलाई के फाइदा हुन्छ? उनीहरू नाइमातर्फ किन आकर्षित हुने ?
गत वर्षको अटो सोमा स्टल शुल्क महँगो भएको गुनासो आएको थियो, जसलाई हामीले यसपटक विशेष ध्यान दिएका छौँ । हामीले स्टलको मूल्यलाई सकेसम्म समावेशी बनाएका छौँ, ताकि साना तथा ठूला सबै व्यवसायी सहजै सहभागी हुन सकून् ।
सूचनाको प्रभावकारी प्रवाहका लागि मिडियालाई छुट्टै समर्पित केन्द्र तोकिएको छ । ग्राहकले गाडी सहज रूपमा अवलोकन गर्न पाऊन् भनेर एक्स्पोको भित्री व्यवस्थापनलाई सरल र फराकिलो बनाइएको छ । साथै, पार्किङको उचित व्यवस्थापन र हलभित्र गर्मीको समस्या समाधान गर्न शीतल वातावरणको प्रबन्ध मिलाइएकाले अवलोकनकर्ताले सहज अनुभव गर्न सक्नेछन् ।

एक महिनामै दुई अर्थात् १५ दिनको अन्तरालमा दुईवटा अटो सो हुँदा कम्पनीहरूलाई आर्थिक भार पर्ने र ग्राहक पनि अन्योलमा पर्ने देखिन्छ । यसलाई कसरी हेर्नुहुन्छ ?
हामी यो विषयलाई फरक ढंगले हेर्छौँ । ग्राहकहरू कुनै एउटा एक्स्पोमा मात्र केन्द्रित हुँदैनन्; उनीहरू आफूले खोजेको ब्रान्ड कुन एक्स्पोमा सहभागी छ भन्ने कुरालाई प्राथमिकता दिन्छन् । नाइमा मोबिलिटी एक्स्पोमा कुन–कुन ब्रान्ड छन्, त्यो हेरेरै ग्राहकहरू आउनुहुनेछ भन्ने हाम्रो विश्वास छ ।
नाइमा मोबिलिटी एक्स्पोको मुख्य विशेषता भनेको चारपाङ्ग्रे, दुईपाङ्ग्रे र व्यावसायिक गाडीहरूलाई एउटै छानामुनि प्रस्तुत गर्नु हो । यसले ग्राहकलाई धेरै ब्रान्ड एकै ठाउँमा तुलनात्मक रूपमा अध्ययन गर्ने अवसर दिन्छ । जब धेरै ब्रान्ड एउटै स्थानमा हुन्छन्, ग्राहकले मूल्य, प्रविधि र सेवाको विश्लेषण गरेर सूचित निर्णय लिन सक्छन् । यसले उनीहरूलाई एक ‘सचेत उपभोक्ता’ बन्न मद्दत पुर्याउछ ।
तपाईंहरूले आयात गर्ने ओमोडा र जेको जस्ता ब्रान्डले चीनजस्तो प्रतिस्पर्धी बजारमा समेत राम्रो स्थान बनाएका छन् । नेपालमा यी ब्रान्डको माग र बिक्री कस्तो छ ?
ओमोडा र जेकोले नेपालमा पनि अत्यन्तै राम्रो प्रदर्शन गरिरहेका छन् । चीनमा जस्तै यहाँका ग्राहकले पनि यी ब्रान्डलाई विश्वास र माया दिनुभएको छ । बिक्रीको तथ्याङ्क हेर्ने हो भने हामी अहिले नेपालका शीर्ष तीन अटो ब्रान्डभित्र पर्छौं, जुन आफैँमा निकै सकारात्मक उपलब्धि हो ।
हालै केही विद्युतीय सवारी आयातकर्तामाथि मोटरको पावर घटाएर सवारी आयात गरी कर छलेको आरोप लागेको छ । महालेखा परीक्षकको प्रतिवेदनले पनि करोडौँ रुपैयाँ बेरुजु देखाएको छ । यसमा तपाईं के भन्नुहुन्छ ?
आरोप लगाउनु सजिलो छ, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्छ । हामी स्पष्ट हुनुपर्छ कि पर्याप्त प्रमाणबिना केवल शंकाको आधारमा बेरुजु कसरी कायम हुन सक्छ? नेपालमा गाडीको मोटर पावरजस्ता प्राविधिक पक्ष परीक्षण गर्ने आधुनिक प्रविधि र प्रयोगशालाको अभाव छ । यस्तो अवस्थामा हामीले तेस्रो मुलुकमा परीक्षण गराउनुपर्ने बाध्यता छ ।

हामीले आयात गरेका गाडीहरूको आधिकारिक परीक्षण रिपोर्ट र सम्बन्धित सबै कागजात सरकारी निकायमा बुझाइसकेका छौँ । यदि कुनै कमीकमजोरी छ भने त्यसलाई औपचारिक रूपमा प्रमाणित गरेर सुधार गर्न हामी तयार छौँ । तर, केवल शंकाको आधारमा आरोप लगाइनु न्यायोचित हुँदैन ।
सरकारले सर्वप्रथम आयातित गाडीको प्रविधि परीक्षणका लागि आवश्यक उपकरण र विशेषज्ञताको व्यवस्था गर्नुपर्छ वा तेस्रो मुलुकमा परीक्षण गराउने संयन्त्र बनाउनुपर्छ । यस्तो व्यवस्थाबिना आरोप लगाउनु उचित देखिँदैन ।
प्रतिक्रिया दिनुहोस्