नेपालमा अब खर्चालु पर्यटक क्रमशः बढ्ने छः कार्यबाहक राजदूत क्लेम


काठमाडौं । नेपालका लागि अष्ट्रेलियाका कार्यबाहक राजदूत (डेपुटी चिफ अफ मिसन) ग्रेग क्लेमले अबको १० वर्षभित्र नेपालको पर्यटन तथा आतिथ्य सत्कार क्षेत्रको व्यापक विस्तार हुने र सँगसँगै धेरै खर्च गर्नसक्ने पर्यटकहरूको संख्या पनि व्यापक रूपमा बढ्ने सम्भावना औंल्याएका छन् ।

“नेपालको आतिथ्य सत्कार क्षेत्रको ठूलो विस्तार हुने र धेरै खर्च गर्नसक्ने पर्यटकहरू (हाइ–इन्ड टुरिष्ट)हरू ठुलो संख्यामा नेपाल आउने सम्भावना छ,” उनले भने, “त्यस्तो अवस्थामा यहाँको होटल, रेष्टुराँका साथै अन्तर्राष्ट्रिय खाद्य परिकार बनाउने सेवा उद्योगको व्यापक माग हुनेछ । यसका लागि आवश्यक दक्ष र सीपयुक्त जनशक्ति विकासमा अहिलेबाटै पहल गर्नु आवश्यक छ ।

कार्यबाहक राजदूत क्लेमले हाल अष्ट्रेलियामा २ लाखको हाराहारीमा नेपालीहरू रहेको साथै ५० देखि ६० हजारको संख्यामा नेपाली विद्याथीहरू पनि अध्ययनरत रहेको बताएका छन् । “अष्ट्रेलियामा उच्चस्तरको शैक्षिक डिग्री हासिल गर्न जाने नेपालीहरूको संख्या बढ्दो क्रममा रहेको छ,” क्लेमले भने, “यसका बाबजुद नेपालमै पनि अष्ट्रेलियाकै मानकको स्तरको शैक्षिक कार्यक्रम विगत एक दशकदेखि चल्दै आएको छ ।”

राजधानीको ग्लोबल एकेडेमी अफ टुरिजम अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)मा सञ्चालित एक वर्षे टेफ कोर्षको आठौं दीक्षान्त कार्यक्रममा बोल्दै कार्यबाहक राजदूत क्लेमले थपे “चाहे तपाईँ सिड्नीमा बसेर अध्ययन गर्नुस् वा काठमाडौंमा अष्ट्रेलियन डिग्रीको मान्यता विश्वभरि एकै हुन्छ ।”

अन्तर्राष्ट्रिय मान्यताप्राप्त अष्ट्रेलियाको सरकारी सरकारी संस्था, टेफ (टेक्निकल एन्ड फर्दर एजुकेशन)को अन्तर्राष्ट्रिय योग्यताअनुकूलकोे १ वर्षे बहुआयामिक सीपमूलक प्रशिक्षण प्रदान गरिएको यो आठौं ब्याच हो । उक्त कोर्ष टेफले तोकेकै पूर्वाधारअनुसार सञ्चालन हुँदै आएको जनाइएको छ ।

विगत एक दशकमा १०० भन्दा बढी होटल व्यवस्थापनको विशेषज्ञ जनशक्ति उत्पादन भइसकेको गेट कलेजले जानकारी दिएको छ । अष्ट्रेलियाको व्यावसायिक शिक्षा प्रदायक टेफ/एनएसडब्लूको मान्यताप्राप्त एक वर्षे कल्नरी कोर्ष विगत केही वर्षयता गेट कलेजले सञ्चालन गर्दै आएको छ ।

गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले गेट कलेज नेपालमा यस प्रकारको योग्यताका दिन, दक्षिण एसियाकै पहिलो कलेज भएको बताउँदै छोटो अवधिको प्राविधिक तथा व्यावसायिक तालिमबाट उत्पादित जनशक्ति हाल अष्ट्रेलिया, यूके, क्यानडासहित नेपालमै पनि उच्चस्तरका होटलमा संलग्न रहेको जानकारी दिए ।

“टेफ कोर्ष सञ्चालन गर्न अष्ट्रेलियाकै शिक्षा संरचना र सोही मापदण्डअनुसारको पूर्वाधार पूरा गर्नुपर्ने हुन्छ, गेट कलेजले सबै मापदण्ड पूरा गरेर यो कोर्षबाट उत्पादित दक्ष जनशक्तिले अहिले नेपालभित्रै सबल व्यावसायिक उपस्थितिसहित अन्तर्राष्ट्रिय स्तरमा पनि रोजगारी पाउन सक्षम हुनु भएको छ,” उनले भने ।

सो अवसरमा, नेपाल सेफ्स एसोसियनका पूर्वअध्यक्ष गोविन्दनरसिंह केसीलगायतका वक्ताहरूले पर्यटन उद्योगमा बढ्दो दक्ष जनशक्तिको माग पूर्ति गर्नका प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदायकहरूको बढ्दो भूमिका बारे चर्चा गरेका थिए ।