साउन १३ मा काठमाडौँमा ३१औं कार्गो दिवस मनाइने, ढुवानी क्षेत्रको सुधारमा नीतिगत छलफल हुने


काठमाडाैँ । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) को आयोजनामा ३१औं कार्गो दिवस यही साउन १३ गते (जुलाई २९, २०२५) मंगलबार राजधानीको हायात रिजेन्सी होटल, काठमाडौँ मनाइने भएको छ।

‘लजिस्टिक विकास र बीबीआईएन कनेक्टिभिटीका ’ शीर्षकमा केन्द्रित यो कार्यक्रम नेपाल इन्टरमोडल यातायात विकास समिति तथा विभिन्न वायु सेवा प्रदायक कम्पनीहरू, बन्दरगाह व्यवस्थापन निकाय, बैंक, तथा अन्य व्यवसायिक संस्थाहरूको सहकार्यमा आयाेजना गर्न लागेको हो।

मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेफा वरिष्ठ उपाध्यक्ष तथा ३१औं कार्गो दिवसका संयोजक नरेश कुमार अग्रवालले कार्गो दिवसको औचित्य, उद्देश्य र कार्यक्रमका विविध पक्षबारे जानकारी दिए।

उनका अनुसार कार्गो दिवसको सुरुवात नेफामा आबद्ध सदस्यहरूबिच पारिवारिक सम्बन्ध र भाइचाराको सञ्जाल विस्तार गर्नका लागि गरिएको हो। यद्यपि पछिल्ला वर्षहरूमा लजिस्टिक तथा फ्रेट फरवार्डिङ क्षेत्रका समस्या, चुनौती र सम्भावनाको गहन छलफल गर्ने रणनीतिक थलोको रूपमा यो दिवस स्थापित हुँदै आएको छ।

अग्रवालका अनुसार नेपालमा प्रत्येक वर्ष जुलाई २९ तारिखमा कार्गो दिवस मनाइँदै आएको छ, जुन विश्वव्यापी आपूर्ति श्रृंखला र लजिस्टिक व्यवस्थाको सुदृढीकरणमा नेपालको सक्रिय सहभागिता र प्रतिबद्धता दर्शाउने दिवस पनि हो।

“नेपालजस्तो स्थलरुद्ध मुलुकमा लजिस्टिक प्रणाली सशक्त हुनु आवश्यक छ,” उनले भने, “यसले उत्पादन लागत घटाउने, समयमै आयात–निर्यात सुनिश्चित गर्ने र आर्थिक प्रतिस्पर्धा बढाउने काम गर्छ।”

कार्यक्रम तीन सत्रमा सञ्चालन हुनेछ। पहिलो सत्रमा उद्घाटन समारोहसहित ‘नेफा वार्षिक अवार्ड २०२५’ वितरण गरिनेछ। यो अवार्ड नेपाली लजिस्टिक्स क्षेत्रका विशिष्ट योगदानकर्ताहरूलाई दिइनेछ, जसमा नेफा सदस्यहरू, सरकारी तथा गैरसरकारी संस्था, अनलाइन र अफलाइन एयरलाइन्स, सुख्खा बन्दरगाह सञ्चालक, लामो समयदेखि कार्यरत कर्मचारी र उत्कृष्ट बस्तुगत संघ/महासंघहरू समावेश छन्। साथै, कार्यक्रमलाई सफल बनाउन योगदान दिने निकायहरूलाई मायाको चिनो प्रदान गरिनेछ।

दोस्रो सत्रमा ‘लजिस्टिक विकास र बीबीआईएन कनेक्टिभिटीका ’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ। उक्त सत्रमा नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग तथा बोर्डका उच्च अधिकारीहरू, एशियन डेभलपमेन्ट बैंक–नेपाल मिशनका प्रतिनिधि, विमान सेवा प्रदायक, सिपिङ्ग कम्पनी, निजी क्षेत्र, अन्तर्राष्ट्रिय सरोकारवालाहरूको सहभागिता रहनेछ।

सो सत्रमा नेपालमा लजिस्टिक पूर्वाधारको वर्तमान अवस्था, बीबीआईएन (बंगलादेश, भुटान, भारत, नेपाल) सन्दर्भमा कनेक्टिभिटीका सम्भावना, नीतिगत समन्वय, ढुवानी मार्ग विस्तार तथा अन्तर्राष्ट्रिय व्यापार सहज बनाउन आवश्यक पहलहरूबारे गहिरो छलफल गरिनेछ।

तेस्रो सत्र अन्तर्गत ‘फेलाेसिप एण्ड ट्रेड मिट’ कार्यक्रम सञ्चालन गरिनेछ, जसमा सरकारी, निजी तथा अन्तर्राष्ट्रिय लजिस्टिक प्रतिनिधिहरूबिच कार्यपत्र प्रस्तुति, भिडियो डकुमेन्ट्री प्रदर्शनी तथा नेटवर्किङ अवसरहरू प्रदान गरिने आयाेजकले जनाएकाे छ ।

कार्गो दिवसले लजिस्टिक क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्न, नीति निर्माण प्रक्रियामा सरोकारवालाको आवाज समेट्न र आपूर्ति श्रृंखला व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ। संयाेजक अग्रवालले भने, “यो दिवस केवल उत्सव होइन, नीति निर्माणदेखि कार्यान्वयनसम्मको संवाद स्थापित गर्ने साझा मञ्च हो।”

नेपालजस्तो भूपरिवेष्ठित मुलुकमा ढुवानी सहज बनाउन र अन्तर्राष्ट्रिय बजारसँग नेपाली उद्योगी व्यवसायीलाई प्रतिस्पर्धात्मक रूपमा जोड्न लजिस्टिक्स पूर्वाधार विकास अपरिहार्य रहेको उल्लेख गर्दै आयोजकले यस क्षेत्रमा सरकारले ठोस नीति र लगानीका माध्यमबाट सहयोग पुर्‍याउनुपर्ने आवश्यकता औंल्याएको छ।

कार्यक्रममा वाणिज्य, उद्योग, पर्यटन, बैंकिङ, बिमा, प्रविधि, उत्पादन र ढुवानी क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहनेछ। कार्गो दिवसले नेपाललाई विश्वव्यापी लजिस्टिक नेटवर्कमा मजबुत रूपमा उभ्याउने विश्वास आयोजकको छ।