काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले आर्थिक वृद्धि, रोजगारी र उत्थानशीलता केन्द्रित पाँचवर्षे नयाँ राष्ट्रिय साझेदारी रणनीति सार्वजनिक गरेको छ ।
मंगलबार एक कार्यक्रमबिच उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सहित अर्थ सचिव घनश्याम उपाध्याय, नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वा र विश्व बैंकका तर्फबाट मालदिभ्स, नेपाल र श्रीलंकाका लागि अपरेसन्स मेनेजर प्रीति अरोराले एडिबीको राष्ट्रिय साझेदारी रणनीति (२०२५–२०२९) सार्वजनिक गरे ।
एसियाली विकास बैंकले नेपालमा पहिलोपटक विश्व बैंक समूहसँग संयुक्त रूपमा राष्ट्रिय साझेदारी फ्रेमवर्क तयार पारेको हो । यो सहकार्यमा आधारित विकास योजनामा महत्वपूर्ण कोसेढुंगा सावित भएको एडिबीको विश्वास छ ।
कार्यक्रममा अर्थमन्त्री पौडेलले एडिबीको नयाँ राष्ट्रिय साझेदारी रणनीतिको सार्वजनिकीकरणसँगै सरकारको ६ दशक लामो साझेदारीमा नयाँ अध्यायको सुरुवात भएको बताए ।
अर्थमन्त्री पौडेले भने “१६औं योजनासँग तोदम्य कायम गर्दै यसले समावेशी आर्थिक वृद्धि, जलवायु उत्थानशीलता र खासगरी युवाहरुका लागि गुणस्तरीय रोजगारी सिर्जनामा सहयोग गर्नेछ। आर्थिक रुपान्तरणको हाम्रो यात्रामा एडिबीको अटल सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।”
लागि एडिबीका राष्ट्रिय निर्देशक कोश्वाले राष्ट्रिय साझेदारी रणनीतिले नेपालको विकास लक्ष्य प्राप्तिमा सहयोग गर्ने एडिबीको अटल प्रतिवद्धतालाई प्रतिबिम्बित गर्नुका साथै समावेशी, उत्थानशील, हरित र रोजगारी सघन आर्थिक वृद्धिको वृहद् एजेण्डा तय गरेको बताए ।
निर्देशक कोश्धाले भने, “हामी अर्थ मन्त्रालयको नेतृत्व र विश्व बैंक समूहसँगको घनीभूत सहकार्यको प्रशंशा गर्दछौं । नीतिगत सुधार, संस्थागत सुदृढीकरण तथा पूर्वाधार विकास आवद्ध गरिएका लगानी परियोजना, नीतिगत आधारमा प्रदान गरिने ऋण तथा क्षेत्रगत विकास कार्यक्रमको संयोजनमार्फत राष्ट्रिय साझेदारी रणनीतिको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालासँग काम गर्न एडिबी प्रतिवद्ध छ।”
राष्ट्रिय साझेदारी रणनीतिले डिजिटल रुपान्तरण, सुशासन र संघीयताका लागि क्षमता विकासका साथै महिला एवं वञ्चितिकरणमा परेका साथै जोखिममा रहेका समूहहरूको सशक्तीकरणजस्ता अन्तरविषयगत प्राथमिकताहरू समावेश गरेको छ, जसले समावेशी र समतामूलक विकास परिणाम सुनिश्चित गर्दछ ।
एडिबीका प्रमुख अर्थशास्त्री इयान खानसन र कार्यक्रम अधिकृत श्रीजना राजभण्डारीले राष्ट्रिय साझेदारी रणनीतिका मुख्य रणनीतिक प्राथमिकता र प्रमुख परियोजनाहरु प्रस्तुत गरिन् ।
प्रतिक्रिया दिनुहोस्