काठमाडौं । सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१ ८२ मा योगदानकर्ताको वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा भएको रकमको ब्याज वितरण गरेको छ। कुल २३ लाख ७९ हजार ५८५ योगदानकर्ताको खातामा जम्मा दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार ८२८ रुपैयाँ ब्याज रकम पठाइएको हो ।
कोषले सो योजनामा चैत ४ गतेसम्म जम्मा भएको रकममा ५.५ प्रतिशत र चैत ५ गतेदेखि असार मसान्तसम्म जम्मा रकममा ५ प्रतिशत ब्याज दिएको हो। यो रकम सम्बन्धित योगदानकर्ताको व्यक्तिगत खातामा जम्मा गरिएको कोषले जनाएको छ।
हालसम्म सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रका ६ लाख ३ हजार ४२६, वैदेशिक रोजगारीमा रहेका १७ लाख ८५ हजार ५७३, अनौपचारिक क्षेत्रका ७२० र स्वरोजगार समूहबाट ४२२ जना गरी कुल २३ लाख ९० हजार १४१ जना योगदानकर्ता सूचीकृत भएका छन्।
संस्थागत रूपमा कोषमा हालसम्म जम्मा ८६ अर्ब ८६ करोड रुपैयाँ बराबरको योगदान संकलन भएको छ। कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार सुरक्षा तथा वृद्ध अवस्था सुरक्षा योजनाहरू सञ्चालन गरिरहेको छ।
यसबीच, कोषले विभिन्न सुविधा योजनाहरू अन्तर्गत योगदानकर्ताहरूलाई हालसम्म १५ अर्ब ७७ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरिसकेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्