काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तनको प्रभाव भयावह रूपमा देखिएको बताएका छन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले जलवायु परिवर्तनका कारण मुलुकको कृषि प्रणाली नै संकटमा परेको बताउँदै मधेस प्रदेशमा अहिले पनि ४६ प्रतिशतभन्दा बढी क्षेत्रफलमा धान रोपाईं हुन नसकेको जानकारी दिए।
उनले भने, “जलवायु परिवर्तनको परिणाम आज अत्यन्त डरलाग्दो अवस्थामा छ। गत शुक्रबारदेखि सरकारले विशेष गरी कृषि र खानेपानीसम्बन्धी विषयमा पटक–पटक बैठक गरी छलफल गरिरहेको छ। मुलुकको मधेस प्रदेशमा ४६ प्रतिशतभन्दा बढी क्षेत्रमा अझै धान रोपाईं हुन सकेको छैन। खानेपानीको समेत हाहाकार छ। खेतमा धाँजा फाटेर उत्पादन नै हुन नसक्ने परिस्थिति छ।”
उनले मधेसमा पानीको गम्भीर अभाव रहेको उल्लेख गर्दै केही क्षेत्रमा खेतीयोग्य जमिन नै चिरा परेर अनुपजाउ बन्न थालेको बताए। जलवायु परिवर्तनका कारण यस्तो संकट देखिएको भन्दै उनले समस्याको समाधानका लागि तत्कालिक र दीर्घकालीन रणनीति आवश्यक रहेको धारणा राखे।
मन्त्री अधिकारीका अनुसार कृषि र खानेपानीका विषयमा सरकार निष्कर्ष निकाल्ने चरणमा पुगेको छ।
प्रतिक्रिया दिनुहोस्