सरकारले विपद् प्रतिकार्यमा ड्रोनको प्रयोग गर्ने


काठमाडाैँ । सरकारले विपद्पछिको प्रतिकार्यका लागि ड्रोनको प्रयोग गर्ने भएको छ ।

मंगलवार गृह मन्त्रालयमा सरकार र नेपाल मानव रहित विमान ड्रोन संघ र नेपाल ड्रोन संघबिच विपद्पछिको प्रतिकार्य (खोज, उद्धार र राहत) का लागि ड्रोनको प्रयोग गर्ने सम्झौता गरेको हो ।

संघहरूले विपद्पछिको प्रतिकार्यका लागि निःशुल्क चालकसहितको ड्रोन उपलब्ध गराउने सहमति भएको गृहमन्त्री रमेश लेखकले बताए । उनले नेपाल विपद्को धेरै जोखिम भएको भूगोलमा रहेको बताए ।

विपद् प्रतिकार्यका लागि सरकारले अत्याधुनिक प्रविधि प्रयोग गर्ने ठाउँमा सरकार पुगेको बताए । निजी क्षेत्रलाई पनि विपद् प्रतिकार्यमा संलग्न गराइ अघि बढिएको बताए । 

“हामी विपद्को अत्यन्त ज्यादा जोखिम भएको भूगोलमा छौँ । भूकम्पको जोखिम छ । बाढी, पहिरो, चट्याङ, आगलागी, लू लाग्ने, हिउँ लाग्ने सम्मका जोखिम छन् । हामीले विपद्को पूर्वसूचना र प्रतिकार्यका लागि हमेसा तयार अवस्थामा बस्न जरुरी छ,” उनले भने ।

गृहमन्त्री लेखकले सरकारले विपद्को प्रतिकार्यका लागि अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेको बताए ।