कार्बन व्यापार सम्बन्धी नियमावली केही दिनभित्रै पास हुन्छः मन्त्री ठकुरी


काठमाडाैँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कार्बन व्यापारसम्बन्धी नियमावली अन्तिम चरणमा पुगेको जनाउँदै केही दिनमै पारित हुने जानकारी दिएका छन् ।

मंगलवार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले नियमावली पारित भएपछि कार्बन व्यापारमा सहजता आउने विश्वास व्यक्त गरेका हुन्।

उनले जलवायु परिवर्तनको असर विश्वव्यापी चुनौती बनेको भन्दै नेपालजस्ता अल्पविकसित र भौगोलिक हिसाबले संवेदनशील मुलुकहरुमा त्यसको प्रभाव अझ गहिरो रुपमा देखिएको बताए ।

मन्त्री ठकुरीले भने, “अहिलेको परिवेशमा जलवायु परिवर्तनले विश्वमा ठूलो चुनौती थपिएको छ । यसको असर नेपालमा गहिरो रुपमा देखिएको छ । केही दिनअघि रसुवामा, केही समयअघि हुम्लाको तिलागाउँ र मुस्ताङमा हिमताल विष्फोट भएर ठूलो क्षति भयो । तराई-मधेस क्षेत्रमा सुख्खा र खडेरीले पानीको हाहाकार छ ।”

उनले यो सबै जलवायु परिवर्तनकै असर भएको भन्दै यसको जोखिम दिन प्रतिदिन बढ्दै गइरहेको उल्लेख गरे । जलवायु परिवर्तनको प्रभाव रोक्न वन तथा वातावरण मन्त्रालयले विभिन्न पहल र प्रयास गरिरहेको बताउँदै मन्त्री ठकुरीले हालै सार्वजनिक गरिएको एनडिसी युएनएफसीसीसीमा पेश गरिसकेको जानकारी दिए ।

उनले कार्बन व्यापारलाई सहज बनाउन बनेको नियमावली छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने र यसले नेपालको वातावरणीय संरक्षण तथा आर्थिक लाभ दुवैका लागि योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।