गाउँपालिका अध्यक्ष र वडाध्यक्ष थाइल्याण्ड उडे, वडाध्यक्ष भन्छन्- ‘कार्यपालिकालाई नमुछ्नुस्’


काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका गाउँपालिका अध्यक्ष र २ वडाध्यक्षहरू थाइल्याण्ड उडेका छन् । पालिकाका शिक्षा अधिकृत सहित बाल विकासका १२ जना शिक्षिकाहरू एक महिने तालिमको लागि थाइल्याण्ड गएका थिए ।

तालिम समापनमा सहभागी हुनको लागि पालिका अध्यक्षा दीपा बोहोरा (दाहाल), वडा नम्बर २ का वडाध्यक्ष जीवन बुर्जा र वडा नम्बर ५ का वडाध्यक्ष सुरथ बसेल थाइल्याण्ड गएका हुन् ।

कार्यपालिकामा निर्णय नभइ थाइल्याण्ड उडेपछि वडा नम्बर ३ का वडाध्यक्ष चन्द्र श्रेष्ठले यस विषयमा पालिकालाइ नमुछ्न अनुराेध गरेका छन् ।

वडाध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, “याे भ्रमण नितान्त उहाँहरूकाे व्यक्तिगत भ्रमण हाे । सुनकाेशी गाउँ कार्यपालिकामा कुनै पनि छलफल र निर्णय नभएकाे व्यहाेरा जानकारी गराउँछु । कृपया सुनकाेशी गाउँ कार्यपालिकालाइ न मुछ्नु हुन अनुराेध छ ।”

आर्थिक वर्ष २०८१/८२ को बजेटमा १५ लाख रुपैयाँ विनियोजन भएपनि आर्थिक वर्ष २०८२/८३ मा यस विषयमा कुनै पनि बजेट विनियोजन नभएको र कार्यपालिकामा छलफल नभएकाेले यस विषयमा कार्यपालिकालाई जाेड्न नहुने वडा नम्बर ३ का वडाध्यक्ष श्रेष्ठले बताए ।

वडाध्यक्ष श्रेष्ठले भने, “कार्यपालिकालाई थाहा नदिई गाउँपालिका अध्यक्ष दीपा बोहोरा, वडा नम्बर २ का वडा अध्यक्ष जीवन वुर्जा र वडा नम्बर ५ का वडा अध्यक्ष सुरथ बसेल थाइल्याण्ड जानु भएको रहेछ । आर्थिक वर्ष २०८२/८३ को बजेटमा यो विषयमा बजेट विनियोजन गरिएको छैन । तालिम समापन कार्यक्रममा को को जाने भनेर छलफल पनि भएको छैन ।”

“अध्यक्षको विषयमा मौखिक कुरा भएको होला तर अरू को को जाने भनेर कुनै पनि छलफल र निर्णय भएको छैन । शिक्षा समितिको बैठक पनि बसेको छैन कुनै पनि बैठक बसेको छैन तर उहाँ नै जाने भनेर निर्णय भएको छैन,” उनले भने ।

उनले २०८१/८२ मा आफु उपस्थिती नभएको बैठकमा निर्णय भएको हो की भनेर अन्य वडाध्यक्षहरुलाई सोधेको तर उनीहरुलाई पनि थाहा नभएको बताएको उल्लेख गरे ।

सामाजिक विकास समिति अन्र्तगत शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिका पर्छ भने यो समितिको संयोजक वडाध्यक्ष श्रेष्ठ आफैँ भएपनि यस विषयमा थाहा नभएको उनले बताए ।

पालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीले धम्माकाया फाउण्डेशनले गाउँपालिकामा सम्बन्ध स्थापना गर्न पत्राचार गरेको र त्यहि अनुसार उसैले भिसा पठाएर उहाँहरु जानु भएको बताए ।

“शिक्षा समितिमा पहिला यति जना पठाउने यसरी पठाउने भनेर असार १ गते बजेट विनियोजन गरेर सभाबाट गरिसकेको छ । अहिले जाने बेलामा कार्यपालिका बैठक बसेन । उहाँहरू आएपछि कार्यपालिकामा राख्नुहुन्छ । कार्यपालिकाले हुँदैन भनेर गलत हो भनेर भन्यो भने गलत मान्ला,” उनले भने, “मलाई र उपध्यक्षज्यूलाई पनि बोलाएको थियो । यो पछाडी कार्यपालिकाले नै स्वीकृति दिन्छ । यो गलत छैन । हामी भगिनी सम्बन्ध विस्तारको लागि भनेर गरिरहेको छौं ।”

उनका अनुसार यसमा धम्माकाया फाउण्डेशन र पालिकाको खर्च छ । “धम्माकाया फाउन्डेशनले को को आउने भनेर भन्दैन । उसले सबै जनप्रतिनिधिहरूलाई बोलाएको थियो । त्यसमा प्रतिनिधिमुलक भनेर अध्यक्षज्यूले लिएर जानु भएको हो । उपाध्यक्षज्यूले आफ्नो कारण देखाउनु भयो र मेरो व्यक्तिगत काम भएको कारणले म गइँन,” उनले भने ।