काठमाडौँ । जडिबुटी चोकदेखि पेप्सीकोला चोकसम्मको सडक सीमाभित्र बनेका अनधिकृत संरचना हटाउन काठमाडौँ महानगरपालिका र डिभिजन सडक कार्यालय, काठमाडौँले अन्तिम ३० दिने सूचना जारी गरेका छन्।
“उक्त सडकखण्डमा सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ १५ मिटरका दरले कायम गरिएको सडक सीमा (राइट अफ वे) भित्र रहेका नक्सा पास विना वा नक्सा पास विपरीत निर्माण गरिएका संरचनाहरू मिति २०८२ असार मसान्तसम्म हटाउन भनिएकोमा अझै केही संरचना हटाइएको देखिएको छैन,” सडक विभाग र काठमाडौँ महानगरपालिकाले जारी गरेको संयुक्त सूचनामा भनिएको छ ।
सरकारी टोलीले गत वैशाख १० गते संयुक्त रूपमा सीमाङ्कन गरी चिनो लगाइसकेको जानकारी दिँदै सूचनामा भनिएको छ, “तेस्रो पटक प्रकाशित यो सूचनाको मितिले ३० दिनभित्र सम्बन्धित व्यक्तिले स्वयंले संरचना हटाउनुपर्नेछ, अन्यथा प्रचलित कानूनअनुसार बाध्यात्मक कारबाही प्रक्रिया अघि बढाइनेछ।”
सार्वजनिक सडक ऐन, २०३१ः स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित भवन निर्माण मापदण्ड र कार्यविधिअनुसार अनधिकृत संरचना हटाउनुपर्ने सूचनामा उल्लेख छ।
यसअघिको दोस्रो सूचना असार मसान्तसम्मको समयसीमा तोकी दिइएको थियो। तेस्रो पटक प्रकाशित यो सूचनाले अब पनि अवज्ञा भएमा सरकारी पक्ष आफैंले संरचना हटाएर कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ।
प्रतिक्रिया दिनुहोस्