इनड्राइभले हस्तान्तरण गर्‍याे बाढी र पहिरो पीडितलाई बाँस–माटोबाट बनेको नयाँ घर


काठमाडाैँ । विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले बाढी र पहिरोका कारण घरवार गुमाएका पीडितहरूलाई नयाँ घर हस्तान्तरण गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग सहकार्य गर्दै इनड्राइभले पाँच परिवारलाई बाँस र माटो प्रयोग गरी बनाइएका दिगो र वातावरणमैत्री घरहरूको साँचो हस्तान्तरण गरेको हो ।

घर हस्तान्तरणसँगै पीडित परिवारलाई अत्यावश्यक सामग्रीहरूको समेत वितरण गरिएको इनड्राइभले जनाएको छ ।

इनड्राइभको एपीएसी कम्युनिकेसन लिड पवित नन्दा आनन्दले भनिन्, “इनड्राइभको सेवा केवल सवारीमै सीमित छैन, हामी दीर्घकालीन र सार्थक परिवर्तनमा विश्वास गर्छौं । बाढी र पहिरोले सबैथोक गुमाएका परिवारहरूलाई स्थिरता, सम्मान र आशाको पुनःस्थापना गर्न हामी प्रतिबद्ध छौं ।”

उनका अनुसार स्थानीय वातावरण, आवश्यकता र संस्कृति अनुसार डिजाइन गरिएका यी घरहरू केवल बसोबासका लागि मात्र नभई, आत्मबल र भविष्य निर्माणतर्फको एक सुरुवात पनि हुन् ।

इनड्राइभका एपीएसी रिजनल डाइरेक्टर मार्क टलीले यो पहललाई सामाजिक अन्यायविरुद्धको अभियानसँग जोड्दै भने, “सन् २०३० सम्म एक अर्ब मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु हाम्रो लक्ष्य हो । यी घरहरू त्यसै अभियानको भाग हुन् ।”

उनले थपे, “हामीले सम्पूर्ण निर्माण प्रक्रिया स्थानीय समुदायसँग समन्वयमा गरेका छौं । यसले प्रत्येक परिवारलाई आफ्ना आवश्यकता अनुसारको घर छनोट गर्ने स्वतन्त्रता दिएको छ, जसले ‘पिपुल फर्स्ट’ भन्ने हाम्रो दर्शनलाई झल्काउँछ ।”

इनड्राइभले आगामी दिनमा पनि यस्ता सहकार्यमार्फत समावेशी, सुरक्षित र सशक्त समुदाय निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।