मधेसमा पानीको हाहाकार छ, मन्त्री भने विदेश भ्रमणमै मस्त छन्ः सांसद कंसाकार


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दबासिनी कंसाकारले मधेसमा पानीको चरम अभावका कारण स्थानीय बासिन्दा घर छोड्न बाध्य भइरहेका बेला सरकार पूर्णरूपमा गैरजिम्मेवार बनेको आरोप लगाएकी छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कंशाकारले बारा, पर्सा र महोत्तरीका विभिन्न क्षेत्रमा खानेपानीको चरम समस्या हुँदा समेत सरकार गम्भीर नदेखिएको बताएकी हुन् । उनले सरकारका मन्त्रीहरू आवश्यक क्षेत्रको अवलोकन गर्नुभन्दा विदेश भ्रमणमै व्यस्त रहेकोप्रति आपत्ति जनाएकी छन् ।

“मधेसमा पिउने पानीको अभावले नागरिकहरू बसोबास गर्न नसकी आफ्नो घर छोड्न बाध्य छन्। तर मन्त्रीहरू विदेश भ्रमणमा रमाइरहेका छन्। बारा, पर्सा र महोत्तरी पुग्नुपर्ने अर्जेन्सी सरकारलाई छैन,” सांसद कंशाकारले भनिन्।

सांसद कंशाकारले सरकारलाई ४८ दिनदेखि भिजिट भिसाको नाममा भइरहेका संगठित मानव तस्करीबारे संसदमार्फत खबरदारी गरिरहे पनि बेवास्ता गरिएको गुनासो गरिन्।

उनले भिजिट भिसा दुरुपयोगको अनुसन्धान गर्न संसदीय छानविन विशेष समिति वा उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गरिन् ।

उनले भिजिट भिसा दुरुपयोगको छानविनका लागि संसदीय समिति नबनेसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिइन् ।