शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गरी शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनु सरकारको उच्च प्राथमिकता रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले द्वन्द्व पीडितहरूलाई न्याय दिने विषयमा सरकार पूर्ण रूपमा संवेदनशील र जिम्मेवार रहेको बताएका हुन् ।

उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण र मेलमिलाप आयोग ऐन, २०७१ अनुसार नै आयोगहरूको पुनर्गठन भई काम सुरू भइसकेको जानकारी गराए ।

उनले टिआरसी टुंग्याउन गठित आयोगहरुले पीडित पक्षसँग समन्वयमा बाँकी कामहरू अगाडि बढाउने विश्वास समेत व्यक्त गरे ।