काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार रेल पूर्वाधार विकास र विस्तारमा गम्भीर रूपमा लागिपरेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मेची–महाकाली विद्युतीय रेलमार्ग र पोखरा–काठमाडौँ विद्युतीय रेलमार्गसहित १ हजार ३ सय १७ किलोमिटर रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको जानकारी दिएका हुन् ।
उनका अनुसार पोखरा–काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणका लागि स्रोत खोजी गर्न चीनको सहयोगमा प्रारम्भिक सम्भाव्यता अध्ययन समेत सम्पन्न भइसकेको छ ।
“सरकारले तत्कालीन रेल वे निर्माण आयोजनामार्फत मेची–महाकाली र पोखरा–काठमाडौँ विद्युतीय रेलमार्गसहित १ हजार ३ सय १७ किलोमिटर रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरेको हो,” प्रधानमन्त्री ओलीले भने, “पोखरा–काठमाडौँ–लुम्बिनी रेलमार्गका लागि मित्रराष्ट्र चीनको सहयोगमा प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको छ । अब अध्ययन प्रतिवेदनको आधारमा क्रमशः निर्माण कार्य अगाडि बढाइनेछ ।”
प्रधानमन्त्री ओलीले दीर्घकालीन लगानी परियोजनाका रूपमा रेल पूर्वाधारलाई प्राथमिकतामा राखिएको पनि स्पष्ट पारे । “देशको समग्र आर्थिक समृद्धि र क्षेत्रीय सन्तुलन कायम गर्न रेल परियोजना अत्यन्त महत्वपूर्ण भएकाले सरकार यसलाई उच्च प्राथमिकतामा राखेर अघि बढेको छ,”उनले भने ।
प्रतिक्रिया दिनुहोस्