नागरिक उड्डयन प्राधिकरणको बजेट रू.३१ अर्ब ४० करोड,सुरक्षा सुदृढीकरण र पूर्वाधार विकास प्राथमिकता


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उड्डयन सुदृढीकरण र पूर्वाधार विकास तथा विमानस्थल सञ्चालनलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ४० करोड ७६ लाख रुपैयाँबराबरको कार्यक्रम र बजेट स्वीकृत गरेको छ ।

प्राधिकरणले उड्डयन सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास तथा विमानस्थल सञ्चालन लगायतका विषयलाई प्राथमिकतामा राखेकाे प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले जानकारी दिए ।

प्राधिकरणले उड्डयन सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास तथा विमानस्थल सञ्चालनका साथै एयर नेभिगेसन क्षमता र दक्षता अभिवृद्धि, यात्रु सेवा सुविधा तथा हवाई सुरक्षा अभिवृद्धि, अन्तराष्ट्रिय संघ संस्थासँग सहकार्य, कर्पोरेट, प्रशासकीय र वित्तीय व्यवस्थापन र मानव संसाधन विकासलाई प्राथमिकतमा राखेको छ ।

प्राधिकरणले १५ अर्ब ९८ लाख आन्तरिक आय, सेयर तथा ऋण अनुदानबाट ५ अर्ब ६० करोड १२ लाख, नेपाल सरकारबाट प्राप्त हुनुपर्ने ८६ करोड ९० लाख, मूल्य अभिवृद्धि कर प्राप्तीबाट १ अर्ब ९५ करोड ६४ लाख, पैश्की मौजदातको २ अर्ब ५ करोड ७१ लाख र बैँक मौज्दातमा रहेको ४ अर्ब ९१ करोड ४० लाख गरेर ३१ अर्ब ४० करोड ७६ लाख आय अनुमान गरेर बजेट स्वीकृत गरेको हो ।

प्राधिकरणलाई वित्तीय व्यवस्थापन तर्फ भार बढी देखिएको छ । प्राधिकरणले वित्तीय व्यवस्थापन तर्फ ४१ प्रतिशत अर्थात १२ अर्ब ८५ करोड ११ लाख बजेट विनियोजन गरेको छ ।

कुल बजेट मध्ये पुँजीगत खर्च ३९ प्रतिशत अर्थात १२ अर्ब ३९ करोड ७० लाख, कार्य सञ्चालन तर्फ २० प्रतिशत अर्थात ६ अर्ब १५ करोड ६७ लाख छ ।

प्राधिकरणले चालु तथा निरन्तर योजनाहरूका लागि ११ अर्ब ५९ करोड ४१ लाख र अघिल्लो वर्षको बाँकी दायित्व भुक्तानीका लागि ६७ करोड ३५ लाख रुपैयाँको व्यवस्था गरिएको छ ।