सडक बालबालिका मुक्त नेपाल घोषणाको अन्तिम चरणमा छौँः मन्त्री सुडी


काठमाडाैँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकार सडक बालबालिका मुक्त नेपाल घोषणाको अन्तिम चरणमा रहेको बताएका छन् ।

बिहीवार सिंहदरबारमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले सडक बालबालिका मुक्त अभ्यिान सञ्चालनका लागि सडक बालबालिका विशेष संरक्षण, निर्देशिका, २०८२ स्वीकृत भइसकेको बताए ।

हराएका ६ हजार ५ सय ९० जना बालबालिकाको खोजतलास गरी ५ हजार ८ सय ३१ जना र बेवारीस फेला परेका ३ सय ८३ जनाको उद्धार गरी ६ हजार २ सय १४ को पारिवारिक पुनर्मिलन तथा पुनस्र्थापना गरिएको उनले उल्लेख गरे ।

भारतका विभिन्न ठाउँमा बेवारीसे फेला परी त्यहाँका बाल कल्याण गृहमा राखिएका लगायत ७१ जना बालबालिकाको स्वदेश फिर्ती, परिवार पुनर्मिलन तथा पुनस्र्थापना गरिएको उनले जानकारी दिए ।

जोखिममा परेका ५९१ जना बालबालिकालाई उद्धार गरिएको र २०४ जना सडक बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापन गरिएको उनकाे भनाइ छ। मन्त्री सुडीकाअनुसार बालबालिका सम्बन्धी राष्ट्रिय नीति, २०८० को कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार भएको छ ।

मन्त्री सुडीकाअनुसार गत आ.व.मा मन्त्रालयको कुल बजेट एक अर्ब ३० करोड ३२ लाख ७५ हजार ६ सय ८ मध्ये ६५ करोड ३६ लाख ७७ हजार खर्च भई जम्मा ५०.१६ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।