काठमाडौँ । कृषि उद्यम केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघले कृषि क्षेत्र तथा कृषि व्यवसायमा देखिएका नीतिगत समस्याका विषयमा सरोकारवालासँग अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न गरेको छ।
केन्द्रका सभापति डि.बि.बस्नेतको सभापतित्व तथा महासंघका उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका उपसभापति राजकुमार कार्की, केन्द्र सदस्यहरू रविन पुरी, सरस्वती गुरुङ तथा केन्द्रका सञ्चालक सदस्यहरू प्रल्हाद दाहाल, कृष्णभक्त श्रेष्ठ, मनोज चापागाईं, खोजराज कटुवाल, सुनिता न्हेम्हाफुकीलगायत विभिन्न क्षेत्रका कृषि व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो।
छलफलमा सहभागी सबै व्यवसायीहरूले आ-आफ्ना क्षेत्रका समस्या प्रस्तुत गरेका थिए। सञ्चालक प्रल्हाद दाहालका अनुसार किसान तथा व्यवसायीहरूले भोगिरहेका समस्याहरू सरकारसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्न यस्तो कार्यक्रमले सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा केन्द्र सदस्य रविन पुरीले कृषि क्षेत्रलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा राखे। उपसभापति राजकुमार कार्कीले कार्यक्रमबाट उठेका समस्याहरूलाई कृषि उद्यम केन्द्रले अध्ययन गरी सम्बन्धित निकायहरूसँग समन्वय तथा लबिङ गर्ने प्रतिबद्धता जनाए।
प्रमुख अतिथि हेमराज ढकालले कार्यक्रममा उठेका सबै सुझाव तथा समस्यालाई नेपाल उद्योग वाणिज्य महासंघले गम्भीरताका साथ लिने बताएका थिए। उनले यस्तो महत्त्वपूर्ण छलफल कार्यक्रमको आयोजना गरेकोमा कृषि उद्यम केन्द्रलाई धन्यवाद समेत दिए।
कार्यक्रमका सभापति बस्नेतले छलफलमा उठेका विषयवस्तुहरूलाई गम्भीरतापूर्वक लिँदै ती समस्याहरू समाधान गर्न केन्द्र सधैं अग्रसर रहने स्पष्ट पारे। उनले कार्यक्रमले नीतिगत सुधारका लागि ठोस आधार प्रदान गरेको धारणा व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्