महिलामन्त्री सुडीको वर्ष दिनः १३२ गर्भवती तथा सुत्केरी महिलाको हवाइ उद्धार, ६१ अर्ब ९७ करोडको वैदेशिक सहयोग स्वीकृत


काठमाडाैँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मन्त्रालय सम्हालेको वर्ष दिनमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरू १३२ जनाको हवाई उद्धार गरिएको बताएका छन् ।

बिहीवार सिंहदरबारमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा यसबारे जानकारी गराएका हुन् ।

मन्त्री सुडीकाअनुसार हिंसा पीडित महिला तथा किशोरीहरूलाई सुरक्षित रूपमा पुनःस्थापना गर्न राष्ट्रियस्तरको मंगला सहाना दीर्घकालीन पुनस्र्थापना केन्द्रमा १८ जनालाई सेवा प्रवाह भइरहेको छ । महिला हिंसा विरूद्धको सचेतनाका लागि टेलिश्रृङ्खला सोच निर्माण भई नेपाल टेलिभिजनबाट प्रशारण भएको पनि जानकारी दिए।

उनले मधेस प्रदेशका विभिन्न ५ जिल्लामा “खुलेर बोलौ, लैङ्गिक हिंसा अन्त्य गरौं–सडक नाटक प्रदर्शन गरिएको, सातौं महिला अधिकार दिवसको अवसरमा प्रत्येक प्रदेशबाट १/१ जना उत्कृष्ट महिला उद्यमीलाई कदरपत्रसहित १ लाख नगद पुरस्कारबाट सम्मानित गरिएको बताए ।

पशुपति वृद्धाश्रममा ६८ जना ज्येष्ठ नागरिकहरू (पुरुष २४ जना र महिला ४४ जना) लाई आवास, भरणपोषण, स्वास्थ्य उपचार सेवा उपलब्ध गराइएको बताए । १३३ जना कुष्ठरोग प्रभावित व्यक्तिहरूको लालनपालनका लागि नेपाल कुष्ठरोग निवारण संघलाई अनुदान सहयोग उपलब्ध गराइएको जानकारी दिए ।

मन्त्री सुडीकाअनुसार अपाङ्गता भएका व्यक्तिको राष्ट्रिय नीति कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार भएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था परियोजना सहजिकरण समितिको सिफारिसमा ५० वटा परियोजना सम्झौता र २८ वटा साधारण सम्झौताको सहमति प्रदान गरिएको बताए ।