देशभर मनसुनी वायुको प्रभाव कमजोर,तराईमा हावाहुरी चल्ने सम्भावना


काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको जल तथा मौस विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । आज दिउँसो देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भु–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राती कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

कोशी प्रदेशको केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाको उल्लेख गरेको छ ।