विपद् सङ्कटग्रस्त क्षेत्र घोषणापछि प्रधानमन्त्री ओली मधेशका दुई जिल्लाको भ्रमणमा जाने


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएका मधेश प्रदेशका महोत्तरी र बारा जिल्ला भ्रमणमा जाने भएका छन् ।

मधेश प्रदेशलाई विपद् सङ्कटग्रस्त घोषणा गरेपछि प्रधानमन्त्री ओली आज दुई जिल्लाको भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,“वस्तुस्थिति हेरौँ स्थानीय किसानहरूका कुरा पनि सुनौ भन्ने लागेको छ । यसपटक मेधश प्रदेशका जिल्लामा पानी नपरेपछि साउनको पहिलो सातासम्म रोपाई हुन सकेको छैन ।”

प्रधानमन्त्री ओलीले आफू दिनरात नै लगातार कामको चापका कारण थकित भएको समेत उल्लेख गरेका छन् ।

सुख्खा भएपछि संघीय सरकारको गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

मौसम विज्ञान विभागको,मौसम पूर्वानुमान महाशाखा अनुसार देशभर मनसुनी वायुको प्रभाव कमजोर छ भने तराईमा हावाहुरी चल्ने सम्भावना छ ।