टिकटक बन्यो ‘मिस नेपाल २०२५’ को आधिकारिक मनोरञ्जन साझेदार


काठमाडाैँ । विश्वकै चर्चित छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटक अब मिस नेपाल २०२५ को आधिकारिक मनोरञ्जन साझेदार बन्ने भएको छ।

प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपालसँगको यस सहकार्यमार्फत टिकटकले नेपाली प्रतिभालाई सशक्त पार्ने, सांस्कृतिक पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्ने र युवापुस्ताको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने प्रतिबद्धता दोहोर्याएको छ।

नेपालको प्रमुख राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस नेपालले हरेक वर्ष नेपाली महिलाको आत्मविश्वास, नेतृत्व क्षमता र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

यस वर्षको सहकार्यअन्तर्गत टिकटकले प्रतियोगीहरूको कथा, तयारीका क्षणहरू र सिर्जनात्मक अभिव्यक्तिलाई प्रस्तुत गर्दै नेपाली समुदायलाई प्लेटफर्ममा थप सक्रिय बनाउने योजना अघि सारेको छ।

सहकार्यको अवधि साउन १७ (जुलाई १) देखि असोज २९ (सेप्टेम्बर १५) सम्म रहनेछ। यस अवधिभर मिस नेपालको ब्याकस्टेज मोमेन्टदेखि रेड कार्पेट झलकसम्मका सम्पूर्ण गतिविधिहरू #MissNepal ह्यासट्यागमार्फत टिकटकमा प्रवर्द्धन गरिनेछ।

टिकटकका दक्षिण एशिया क्षेत्रका कन्टेन्ट अपरेशन्स लिड उमाइस नविदले भने, “मिस नेपालसँगको सहकार्य टिकटकको स्थानीय प्रतिभालाई उजागर गर्ने निरन्तर प्रयासको हिस्सा हो। नेपाली आवाजलाई अन्तर्राष्ट्रिय स्तरमा चम्किन मञ्च प्रदान गर्नु र देशको सांस्कृतिक तथा सिर्जनात्मक इकोसिस्टममा हाम्रो योगदान बढाउनु हामीलाई गर्वको कुरा हो।”

प्रतियोगितासँगै टिकटक क्रिएटरहरूलाई मिस नेपाल एक्सपिरियन्समा विशेष पहुँच दिइनेछ, जसअन्तर्गत उनीहरूले बिहाइन्ड द सीन भिडियो, सांस्कृतिक सहकार्य र प्रतियोगीहरूको प्रेरणादायी कथा प्रस्तुत गर्न सक्नेछन्।

मिस नेपाल प्रतियोगिता आयोजन गर्दै आएको संस्था द हिडन ट्रेजर का अध्यक्ष अजय रत्न स्थापितले भने, “हामी टिकटकलाई मिस नेपाल २०२५ को एकमात्र मनोरञ्जन पार्टनरका रूपमा स्वागत गर्न पाउँदा उत्साहित छौं। यो सहकार्यले विशेष गरी युवापुस्तालाई मिस नेपालको अनुभव नजिकबाट नियाल्न मद्दत गर्नेछ। हामी प्रतियोगीहरूको विविधता, सिर्जनशीलता र सपनालाई नयाँ र आकर्षक तरिकामा प्रस्तुत गर्न सँगै अघि बढ्नेछौं।”

यो सहकार्यमार्फत उत्पादन हुने विशेष कन्टेन्टहरू टिकटकको आधिकारिक अकाउन्ट मार्फत सार्वजनिक गरिनेछ, जसले टिकटकलाई मिस नेपाल २०२५ को मुख्य डिजिटल गन्तव्य बनाउने अपेक्षा गरिएको छ।

मिस नेपाल २०२५ को यात्रा पछ्याउनका लागि www.missnepal.com.np मा जानुहोस् र टिकटकमा @missnepal लाई फलो गर्न आग्रह गरेकाे छ ।