काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले भिजिट भिसाको नाममा भइरहेको संगठित मानव तस्करी र भ्रष्टाचारप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाएकी छन् ।
शुक्रवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कठायतले राज्यसंयन्त्र र सरकार नागरिकप्रति जवाफदेही रहनुपर्ने संवेदनशीलता गुमाएको टिप्पणी गरेकी हुन् । उनले भिजिट भिसाको आडमा भइरहेको मानव तस्करीजस्तो गम्भीर अन्तर्राष्ट्रिय अपराधलाई सामान्य समितिमार्फत ढाकछोप गर्न खोजिएको भन्दै आपत्ति जनाइन् ।
“यस देशमा कानून, न्याय, जवाफदेहीता र संवेदना मरेर गएका हुन् कि जस्तो देखिन्छ,”उनले भनिन्, “संसद र सडक दुवैबाट पटक–पटक आवाज उठाउँदा पनि सरकार उदासिन देखिन्छ । यस्तो गम्भीर मुद्दालाई टालटुले समिति बनाएर झारा टार्न खोजिँदैछ ।”
सांसद कठायतले भिजिट भिसा प्रकरणमा गठन गरिएको छानबिन समितिलाई अस्वीकार गर्दै न्यायिक आयोग वा संसदीय विशेष समिति गठन गर्न माग गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यही माग राख्दै आएको उनले स्मरण गराइन् ।
उनले मानव तस्करीको विषयमा संयुक्त राष्ट्रसंघ मात्र नभई मित्र राष्ट्रहरू समेत चिन्तित हुँदै गएको बताइन् । “छिमेकी भारतका मिडियामा समेत यो विषय प्रवेश गरिसकेको छ,” कठायतले भनिन् ।
प्रतिक्रिया दिनुहोस्