रास्वपालाई काँग्रेसले भन्योः भिजिट भिसाबाटै अहिलेको ठाउँमा आउनेहरूले भिजिट भिसाबारे धेरै चिन्ता गर्नुपर्दैन


काठमाडाैँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसाको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले अत्यधिक चिन्ता गर्नु आवश्यक नभएको बताएका छन् ।

शुक्रवार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएका र उतै घरजम गरेका व्यक्तिहरुले समेत नेपाल फर्किएर उपप्रधानमन्त्रीसम्म बनेको उदाहरण दिँदै चिन्ता प्रकट गर्नु रास्वपाकै विरोधाभासपूर्ण व्यवहार भएको टिप्पणी गरे ।

उनले नाम नलिईकन रास्वपा सभापति रवि लामिछानेतर्फ संकेत गर्दै भने, “संसदमा झन्डै दुई महिनादेखि केही साथीहरुले धेरै चिन्ता व्यक्त गरिरहनुभएको छ । धेरै चिन्ता गर्न आवश्यक छैन । हामीले एउटा अभ्यास गरिसकेका छौँ । भिजिट भिसामा यहाँबाट बाहिर जाने, त्यहीँको नागरिकता लिने, त्यहीँ घरजम गरेर बस्ने, केही समयपछि नेपाल फर्किने, दुई चार वटा काण्ड मच्चाउने, पार्टी खोल्ने, त्यसपछि गृहमन्त्री, विभिन्न मन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म हुने अभ्यास हामीले गरिसकेका छौँ ।”

उनले भिजिट भिसामा विदेश गएर बसेका र उतैको नागरिकता लिई फर्किएर राजनीतिमा सक्रिय भएकाहरुमध्ये धेरैजना अहिले रास्वपाकै अग्रपंक्तिमा रहेको दाबी गरे । “त्यही पार्टीका धेरै सांसद, धेरै नेताहरु भिजिट भिसाबाट आजको स्थानसम्म आइपुगेका छन् । तर सबैभन्दा धेरै चिन्ता पनि त्यही पार्टीले गरिरहेको देख्दा आश्चर्य लागेको छ,” घिमिरेले भने ।

भिजिट भिसाको दुरुपयोग र अन्तर्राष्ट्रिय कानुन उल्लंघनलाई अस्वाभाविक नभएको बताउँदै उनले थपे, “भिजिट भिसामा गएर उतैको नागरिकता, पासपोर्ट लिने कार्य निश्चय पनि अन्तर्राष्ट्रिय कानूनअनुसार गलत हो, यो कुनै पनि देशले राम्रो ठान्दैन । तर, हामीले यस्ता अभ्यासलाई देखिसकेका छौँ, त्यसैले अहिले अनावश्यक चिन्ता गर्नुको कुनै औचित्य देख्दिनँ ।”