एमालेलाई भण्डारीले भनिन्ः मलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि मिल्दैन


काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि नमिल्ने बताएकी छन् ।

शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले आफू राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको पैँतिस वर्ष भइसकेको र अहिले पार्टी सदस्य भएको पैँतालिस वर्ष बितिसकेको बताएकी हुन् । पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिवद्ध हुँद हुँदै पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि नमिल्ने उनको भनाइ छ ।

एमाले बनाउन आफू लगायत हजारौँ नेता, कार्यकर्ता र सदस्यको रगत, पसिना, मेहनत लागेको उल्लेख गरिन्। जबजले अगाडि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न पनि आग्रह गरिन् । नेपाली माटोको सुवासमा विकसित भएको जबजको मार्गदर्शनमा नै एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने र मुलुकमा दिगो राजनीतिक स्थायित्व कायम भएर समाजवादको आधार निर्माण हुने विश्वास व्यक्त गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले ऐतिहासिक सफलतातर्फ उन्मुख बनिरहेको अहिलेको महत्वपूर्ण घडीमा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकतावद्ध र सुदृढ बनाउनुपर्ने दायित्व भएको बताइन् ।