भारत–नेपाल गृह सचिवस्तरीय वार्ताः सीमापार अपराध नियन्त्रणदेखि विपद् व्यवस्थापनसम्म सहकार्य गर्ने निर्णय


काठमाडाैँ । भारत र नेपालको गृह सचिवस्तरीय बैठकले सीमापार अपराध नियन्त्रण, विपद् व्यवस्थापन र आपसी कानुनी सहायताजस्ता बहुपक्षीय सुरक्षाका विषयमा सहकार्य गर्ने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

बुधवार भारतको नयाँ दिल्लीमा सम्पन्न गृहसचिवस्तरीय वार्ताले यस्तो निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शुक्रवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।

बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकारका गृहसचिव गोविन्द मोहनले गरेका थिए भने नेपाली प्रतिनिधिमण्डको नेतृत्व नेपाल सरकारका गृहसचिव गोकर्णमणि दुवाडीले गरेकाे थिए।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव तिवारीकाअनुसार बैठकमा खासगरी मानव बेचबिखन तथा सीमापार लागुऔषध ओसारपसार नियन्त्रणका विषयमा प्राथमिकताका साथ छलफल छ ।

बैठकमा सीमामा निगरानी तथा जाँच प्रणालीलाई सुदृढ बनाउने, समयमै अपराधसम्बन्धी सूचना आदानप्रदान गर्ने र सम्भावित अपराध रोक्न दुवै देशका सुरक्षा निकायबीच सहकार्यलाई थप सशक्त बनाउने निर्णय भएको तिवारीले बताए ।

साथै, सीमा क्षेत्रमा भइरहेका अराजक गतिविधिहरु नियन्त्रण गर्न दुवै पक्षले सक्रियता बढाउने प्रतिवद्धता जनाएको पनि उनले बताए । उनले विपद् व्यवस्थापनमा सहकार्य अभिवृद्धि गर्ने, अर्ली वार्निङ प्रणालीमार्फत सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने र कानूनी सहायतासम्बन्धी प्राविधिक प्रक्रिया टुंग्याउने निर्णय पनि बैठकले गरेको बताए । 

उनकाअनुसार बैठकमा सीमा क्षेत्रका स्तम्भहरुको निर्माण तथा मर्मतका विषयमा पनि छलफल भएको छ ।