वागमती प्रदेशमा काँग्रेसको विद्रोहः चार मन्त्रीको राजीनामा, मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रश्ताव दर्ता


काठमाडाैँ । वागमती प्रदेश सरकार भित्र ठूलो राजनीतिक हलचल सुरू भएको छ ।

नेपाली काँग्रेसका चारजना मन्त्रीले एकैसाथ राजीनामा दिँदै आफ्नै पार्टीका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध विद्रोह सुरू गरेका छन् ।

राजीनामा दिनेमा संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने छन् ।

यी मन्त्रीहरूले आफ्नो राजीनामा ह्वाट्सएपमार्फत मुख्यमन्त्री लामालाई बुझाएका हुन् । यो कदम मुख्यमन्त्री लामालाई काँग्रेस संसदीय दलको नेताबाट हटाउने योजनाअन्तर्गत चालिएको हो ।

काँग्रेस संसदीय दलका ३७ मध्ये २१ सांसदले लामाविरुद्ध अविश्वासको प्रश्तावमा हस्ताक्षर गरेका छन् । बाँकी केही सांसद पनि नेतृत्व परिवर्तनको पक्षमा रहेको बताइए पनि, हालसम्म औपचारिक समर्थन सार्वजनिक भएको छैन । 

प्रदेश सभापति तथा वरिष्ठ नेता इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्ने दौडमा अगाडि देखिएका छन् ।  देउवाले लामालाई स्पष्ट रूपमा राजीनामा दिन भनेपछि बानियाँ पक्ष थप सक्रिय भएको हो । तर लामा भने अझै पद नछोड्ने अडानमै छन् । यो सबैको जरो भने बजेट विवाद हो ।

आ.व. २०८२—८३ को बजेटमा काँग्रेसभित्रै गम्भीर असहमति चुलिँदा सत्ता संकटको रूप लिएको हो । १३ पुस २०७९ मा भएको संसदीय दलको चुनावमा लामा ५ मतले बानियाँलाई हराएर नेता बनेका थिए। अहिले त्यही बानियाँ नेतृत्व परिवर्तनको मुहान बन्न लागेका छन् ।

काँग्रेसभित्रको यो शक्ति संघर्षले बागमती प्रदेशमा सरकारको स्थायित्वमाथि गम्भीर प्रश्न उठाएको छ । अबको खेल लामाको राजीनामा वा विश्वासको मत गुम्ने प्रष्ट देखिन्छ ।